अत्तरिया : कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा झाडी सफाइ गरिएको छ । तीन वर्ष अघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा नआएको विश्वविद्यालयको प्रशासनिक, एकेडेमी भवनको परिसरमा आज बिहान सरसफाइ गरिएको हो ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिको नेतृत्वमा भएको सरसफाइ कार्यक्रममा स्थानीयको सहभागिता रहेको थियो । उनीहरूले विश्वविद्यालय परिसरमा उम्रिएका छाडी सफा गरेर एक ठाउँमा जम्मा गरेका छन् ।
सङ्घर्ष समितिका सचिव धर्म सिंह कुवरले आन्दोलनकै कार्यक्रम अन्तरगत साङ्केतिक रूपमा दबाब दिन विश्वविद्यालय परिसरमा सरसफाइ गरिएको बताए । उनले विश्वविद्यालय परिसरमा झाडी उम्रिएर कुरूप बनेको बताए ।
सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डेले एप्रोन लगाएका विद्यार्थीहरू पढ्न सुरु नगर्दा सम्म आफूहरूको सङ्घर्ष जारी रहने बताएका छन् । उनले विश्वविद्यालय अन्तरगत रहने अस्पताल ५० शय्याको मात्रै रहेकाले अस्पतालको क्षमता तत्काल ३ सय शय्या विस्तार गरेर यसै वर्ष देखि चिकित्सा शिक्षा अध्यापन गराउनु पर्ने बताए ।
