सेती प्रादेशिक अस्पताल नेतृत्वविहीन

धनगढी : सुदूरपश्चिम प्रदेशको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल नेतृत्वविहीन हुँदा अस्पतालको नीतिगत निर्णय प्रक्रिया प्रभावित भएको छ।

अस्पताल विकास समिति अध्यक्ष निर्मल शाहको कार्यकाल गत चैत ७ गते सकिएपछि नयाँ अध्यक्षको नियुक्ति नभएको हो। सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले विकास समितिमा नहुँदा अस्पतालबाट नितिगत रुपमा समस्या आएको मौखिक रुपमा पटक पटक जानकारी आएको बताए।

नौ वटै जिल्ला अस्पतालको विकास समितिमा पदाधिकारी नियुक्त गर्ने काम केही दिनभित्र हुने उनले बताए। अस्पताल नेतृत्वविहीन बनेपछि प्रशासनिक सेवा भने सञ्चालनमा छ तर नीतिगत निर्णय तथा नयाँ योजना निर्माणमा असर परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले जानकारी दिए।

नीतिगत निर्णय र समस्या समाधानका लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने हो, समिति नहुँदा त्यसबाट गरिनुपर्ने काम प्रभावित भएका बताए। अध्यक्ष अभावमा नियमित बैठक, कर्मचारी भत्ता वितरण, र करार कर्मचारीको म्याद थपजस्ता विषयमा समेत अन्योलता देखिएको छ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका अस्पताल विगत चार महिनादेखि नेतृत्वविहीन अवस्थामा छन्। त्यसले गर्दा अस्पतालको नीतिगत कार्य प्रभावित भएको छ । अस्पताल विकास समिति नहुँदा अस्पतालको भौतिक, आन्तरिक र बाह्य व्यवस्थापनको कामलाई व्यवस्थित गर्न कठिनाइ भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले बताए।

Loading...