अत्तरिया : कैलालीको गोदावरीमा सासूको सेवा गर्ने एक बुहारीलाई सम्मान गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका– ३ मा रहेको बहुमुखी कला मन्दिरले विगत देखी नै सासूको सेवा गर्दै आएको भन्दै सोही वडाको ढकौवा बस्तीमा बस्ने पार्वती बोगटीलाई सम्मान गरेको हो ।
तीजको अवसर पारेर एक कार्यक्रमको आयोजना गर्दै सासूको सेवा गर्ने बुहारीलाई सम्मान गरिएको बहुमुखी कला मन्दिरका अध्यक्ष राम बहादुर बोगटीले जानकारी दिए । उनले विगत लामो समयदेखी सासूको सेवा गरेर असल बुहारीको भुमिका निर्वाह गर्दै आएको भन्दै पार्वतीलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मानित गरिएको बताए ।
‘नेपाली समाजमा प्रायः सासू र बुहारीको सम्बन्ध भन्ने बित्तिकै नकारात्मक हुन्छ भन्ने धारणालाई चिर्दै विगत लामो समयदेखि सासूको सेवा गर्ने बुहारीलाई हामीले सम्मान गरेका हौ’ उनले भने । बुधबार बहुमुखी कला मन्दिरले तीजको अवसरमा तीज विशेष कार्यक्रम आयोजना गरेको थियो ।
सो कार्यक्रममा विगत १७ वर्षदेखी सासूको सेवा गर्दै आईरहेकाले पार्वतीलाई सम्मानित गरिएको अध्यक्ष बोगटीले बताए । पार्वतीलाई प्रदान गरिएको सम्मान पत्रमा विगत १७ वर्षदेखी सासू र बुहारी भनेको आमाछोरी समान हुन भन्ने कुरा देखाउदै परिवारमा कुनै पनि प्रकारको मनमुटाव नदेखाएको र सासु तथा परिवारको अनवरत रुपमा सेवा गरी उदाहरणीय व्यक्तित्व झल्काएको उल्लेख गरिएको छ ।
बहुमुखी कला मन्दिरका अध्यक्ष बोगटीले सासूको सेवा गर्ने बुहारीलाई सम्मान गर्दा समाजमा सकारात्मक सन्देश जाने आफुले विश्वास लिएको बताए ।