बिस्तारै बिस्तारै बन्द हुन थाले फेसबुकसहित सूचीकरण नभएका सामाजिक सञ्जाल

नेपालमा सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल प्ल्याटफर्म बन्द हुन थालेका छन् । सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारिएको जनाएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले केहीबेरअघिबाट फेसबुक बन्द गरिएको जनाएको छ । एनटीसी र वल्र्डलिंकको आईपी एड्रेसबाट फेसबुक चल्न छाडेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार अदालतको आदेश र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिक, २०८० लाई आधार मान्दै २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको थियो ।

सरकारले नेपालमा दर्ता नभएका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरे पनि भाइबर, टीकटक, वी टकलगायत प्लेटफर्म भने निरन्तर सञ्चालन हुने छन् । यी सामाजिक सञ्जाल नेपालमा दर्ता भइसकेकाले उनीहरूलाई सञ्चालन हुन दिइने भएको हो ।

बन्द हुने सामाजिक सञ्जाल पनि दर्ता हुन आएकै दिन सुचारु हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

Loading...