कार्यालय पुनर्निर्माणका लागि डडेल्धुराका शिक्षक धामीले एक महिनाको तलब नलिने

देशकै पहिलो शिक्षकस्तरबाट आएको सन्देशमूलक कदम

डडेल्धुरा : डडेल्धुराका एक शिक्षकले जेन-जि आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी कार्यालय पुनर्निर्माणका लागि आफ्नो एक महिनाको तलब नलिने भएका छन्।

जिल्लाको परशुराम नगरपालिका–३ सिमल्टास्थित श्री जनज्योति प्राथमिक विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर धामीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन्। उनले राष्ट्रसेवक कर्मचारीहरूले संकटको घडीमा सानो मात्र पहल गरे पनि राज्यलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।

“यदि सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूले मात्रै एक महिना बराबरको तलब सुविधा नलिने हो भने राज्यलाई ठूलो राहत हुने छ,” धामीले आफ्नो स्टाटसमा लेखेका छन्।

उनको यो पहल देशकै पहिलो शिक्षकस्तरबाट आएको सन्देशमूलक कदमका रूपमा लिइएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले धामीको निर्णयलाई खुलेर प्रशंसा गरेका छन्।

कतिपयले यस्तो कदमले अन्य शिक्षक तथा राष्ट्रसेवक कर्मचारीलाई पनि देश संकटमा सहयोग गर्ने प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। सरकारका विभिन्न निकायहरू जेन-जि आन्दोलनपछि पुनर्निर्माणको चुनौती सामना गरिरहेका बेला शिक्षक धामीको पहलले सकारात्मक सन्देश दिएको छ।

Dhn Upa. Dashain 2082
Loading...