कैलालीमा जारी निषेधाज्ञा र कर्फ्युमा परिमार्जन, खुकुलो बनाइयो

धनगढी : देशको समग्र शान्ति–सुरक्षा, कानून–व्यवस्था तथा नागरिकको दैनिक जीवनलाई असर पुर्‍याउने सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै कैलाली जिल्लामा निषेधाज्ञा केही खुकुलो बनाइएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भुसालले शुक्रबार एक आदेश जारी गर्दै शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अर्को आदेश नआएसम्मका लागि जिल्लाभर लगाइएको निषेधाज्ञा र कर्फ्युमा परिमार्जन गरिएको जनाएका छन्।

आदेशअनुसार सार्वजनिक शान्ति–सुरक्षामा खलल पुर्‍याउने सम्भावित हुलदङ्गा, झडप, भीडभाड तथा आक्रामक गतिविधिलाई नियन्त्रण गर्न सरकारी कार्यालय र क्षेत्रमा निषेधाज्ञा आवश्यक देखिएको उल्लेख छ। स्थानीय प्रशासनले केन्द्र सरकारका कार्यालय, प्रदेश र स्थानीय तहका कार्यालय, सुरक्षा निकायका कार्यालय र परिसरतर्फ भीडभाड गर्न नपाइने जनाएको छ।

यस्तै, अत्यावश्यक वस्तु तथा सेवासम्बन्धी स्थल, मठ–मन्दिर र प्रमुख बजार क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्नुपर्ने भएकाले हतियार, घरेलु हतियार, लाठी जस्ता सामग्री लिएर हिँड्न प्रतिबन्ध लगाइएको छ।जिल्ला प्रशासनले जुलुस, सभा, प्रदर्शन, राजनीतिक दलका पार्टी कार्यालय घेराउ वा प्रभाव पार्ने गतिविधि गर्न नपाइने जनाएको छ।

आदेशमा आक्रामक नारा, उत्तेजनात्मक भाषण र कालोपट्टी जस्ता सामग्रीको प्रयोग गर्न समेत निषेध गरिएको छ। जिल्ला प्रशासनले नागरिक, व्यापारी, उद्योगी, संघ–संस्था र सबैलाई आदेशको पालना गर्न आग्रह गरेको छ। आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

Deep Jyoti Pustak psl
Loading...