डडेल्धुरा : डडेल्धुरामा गत भदौ २४ गते भएको जेनजीको आन्दोलनबाट करिब तीन करोडको क्षति भएको प्रहरी जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी डम्बर विष्टले दिएको जानकारी अनुसार सरकारी, गैरसरकारी कार्यालय, पार्टी कार्यालय र सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्रीको घरमा गरिएको आगलागी, तोडफोडबाट करिब तीन करोड मूल्य बराबरको क्षति भएको छ।
उनका अनुसार अमरगढी नगरपालिका, आन्तरिक राजस्व, मालपोत, नापी, यातायात, निर्वाचनगायत सरकारी कार्यालय, ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक बहुउद्देशीय विकास समाज एमपिडिएस, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, बिपी कांग्रेस पार्टी कार्यालय र राज्यमन्त्री सरस्वती खड्काको घरमा आगजनी र तोडफोड हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।
प्रहरीले उठाएको मुचुल्का अनुसार शनिबार बेलुकीसम्म दुई करोड ५३ लाख मूल्य बराबरको क्षति भएको र केही पार्टी कार्यालयको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ। सबैभन्दा बढी क्षति गैरसरकारी संस्था रुडुकमा भएको छ । रुडुकका दुई वटा भवन र सबै सामग्री आगजनीबाट ध्वस्त भएका छन् ।
रुडुकमा करिब ४० लाख मूल्य बराबरको क्षति भएको जनाइएको छ । सरकारी कार्यालयमध्ये मालपोत कार्यालयको करिब ३० लाख क्षति भएको छ । अन्य कार्यालयले सेवा प्रवाह गरे पनि मालपोत कार्यालयको काम ठप्प छ।
मालपोत कार्यालयका प्रमुख कमलापति भट्टका अनुसार दुई वटा मोटरसाइक, कम्प्युटर, प्रिन्टर, स्क्यानरलगायतका सामग्री ध्वस्त भएका छन् । फ्यालका सिसा फुटाइएका छन् । अनलाइन सूचीकृत नभएका मोठ ध्वस्त हुँदा अभिलेख पनि नष्ट भएका छन् । बुधबार बेलुकीसम्म सामग्री खरिद गरी सेवा सञ्चालन गरिने उनले बताए। गत भदौ २४ गतेदेखि बन्द भएका विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन् ।
२४ गते प्रदशर्नकारीले केही सरकारी, गैरसरकारी कार्यालय र पार्टी कार्यालयमा आगजनी, तोडफोड गरेपछि अपराह्न ३ः०० बजेदेखि जिल्ला सदरमुकाम क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको थियो । शुक्रबार राति देशले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पाएपछि शनिबार बिहानदेखि कफ्र्यु हटेको थियो ।