अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा आगलागीबाट सम्पूर्ण भौतिक सामग्री नष्ट भएपछि सहयोगदाताहरु सहयोग गर्न थालेका छन । अत्तरियाका युवा व्यवसायी तथा गड्तौला सप्लायर्स अत्तरियाका प्रोप्राइटर प्रकाश देउवाले नगरपालिका कार्यालयलाई एक थान कुर्सी र एक थान कलर प्रिन्टर उपलब्ध गराउँदै पुनर्निर्माण अभियानमा हातेमालो गरेका छन् ।
देउवाले उपलब्ध गराएको सामग्रीलाई गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट, उपप्रमुख शारदा देवी रोकाया र प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीलाई हस्तान्तरण गरिएको छ । देउवाको योगदानप्रति नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।
यस्तै, सर्वोत्तम पेन्ट्सले ७५ हजार नगद गोदावरी नगरपालिकाको खातामा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत बिनाडी बताएका छन् । हालैको आगलागीमा नगरपालिकाको सम्पूर्ण भौतिक संरचना, कागजात, कम्प्युटर तथा उपकरणहरू नष्ट भएपछि नगरपालिकाले राजनीतिक दल, नागरिक समाज, संघ-संस्था, व्यवसायी तथा आम नागरिकलाई सहयोगका लागि अपिल गरेको छ ।
नगरप्रमुख भट्टका अनुसार सहयोग संकलन पारदर्शी ढंगले सञ्चालन गर्न एनआइसी एसिया बैंकमा विशेष खाता नम्बर र क्युआर कोड सार्वजनिक गरिएको छ । उनले स्थानीय सरोकारवाला सबैलाई हातेमालो गर्दै नगरलाई पुनः पूर्ववत् अवस्थामा ल्याउन योगदान गर्न आग्रह गरेका छन् । सहयोग अभियानसँगै गोदावरी नगरपालिकाले पुनर्निर्माणलाई संस्थागत रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ ।