काठमाण्डौ : सरकारले ‘जेन–जी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमवारको निर्णयअनुसार आज असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।
सरकारी कार्यालय, विदेशमा रहेका नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद्बाट निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
जेन–जीको आन्दोलनमा ज्यान गुमाएकाहरूको हिजो शवयात्रासहित अन्त्येष्टि गरिएको छ । शिक्षण अस्पताल महाराजगञ्जबाट १० जनाको सामूहिक शवयात्रा निकालिएको थियो । तीमध्ये छ जनाको शव काठमाण्डौ बाहिर लगिएको छ भने चार जनाको सम्मानसहित पशुपतिमा अन्त्येष्टि गरियो ।
गएको २३ र २४ गते भएको आन्दोलनका मृतकलाई शहीद घोषणा गर्ने र परिवारलाई १५ लाख रुपैयाँ दिने सरकारले निर्णय गरिसकेको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेको सङ्ख्या ७३ जना पुगेको छ । जसमध्ये प्रहरीतर्फ तीन जनाले ज्यान गुमाएका नेपाल प्रहरीले जनाएको छ ।
वास्तु दिवस एवम् विश्वकर्मा पूजा
त्यस्तै आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा गरी यो दिवस मनाउने गरिन्छ ।
आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । इञ्जिन जडान भएका यन्त्र उपकरण, गाडी समेतको पूजा गरिन्छ ।
विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा मानिन्छ । यही सम्झनामा नेपालका कालीगढले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी सम्मान गर्ने गर्छन् । वास्तु शास्त्र पुस्तकका लेखक एवम् अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा पनि मनाउने गर्छन् । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ ।
विश्व बिरामी सुरक्षा दिवस र राष्ट्रिय विज्ञान दिवस
यस्तै आज विश्व बिरामी सुरक्षा दिवस र राष्ट्रिय विज्ञान दिवस पनी परेको छ ।
हरेक वर्ष सेप्टेम्बर १७ तारिखमा विश्वभर मनाइने बिरामी सुरक्षा दिवस बिरामीको सुरक्षालाई विश्व स्वास्थ्यको प्राथमिकतामा राख्दै सबै देश र अन्तर्राष्ट्रिय साझेदारलाई संयुक्त प्रयास गर्न आह्वान गरिन्छ ।
दिवसको उद्देश्य बिरामी, उनीहरूका परिवार, हेरचाह गर्नेहरू, समुदाय, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका नेतृत्वकर्ता र नीति निर्मातालाई एकै ठाउँमा ल्याई बिरामी सुरक्षाप्रति उनीहरूको प्रतिबद्धता देखाउनु हो । यस्तै आज १३औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ ।
हरेक वर्ष असोज १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो दिवस मनाउँदै आएको छ । नेपालमा विज्ञान शिक्षामा अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर विज्ञान दिवस मनाउन थालिएको हो ।
