सुदूरपश्चिममा सवारी दुर्घटनामा परी २१ दिनमा १६ जनाको ज्यान गयो

अत्तरिया : शनिबार राति धनगढीबाट बाजुरा जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । चालकसहित ६ जना घाइते भएका छन् ।

धनगढीबाट बाजुरा जाँदै गरेको जिप शनिवार राति केआई सिंह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिका-६ अण्यौलमा दुर्घटना भएको हो। २१ वर्षीय चालक महेश बुढाले चलाएको ग २ च २७७६ नम्बरको बोलेरो जिप सडकबाट करिब ६० मिटर तल सेती नदीमा खसेको प्रहरीले जनाएको छ ।

त्यस्तै कैलालीको गोदावरी नगरपालिका-४ मा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा खडकबहादुर विष्टको मृत्यु भएको छ । शुक्रवार राति सुदूरपश्चिम प्रदेश ०२ ००३ प ६०५८ नम्बरको मोटरसाइकलका चालक डडेलधुराको परशुराम नगरपालिका-११ का २१ वर्षीय विष्टको सेती प्रादेशिक अस्पताल धनगढीमा शनिवार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

विहिबार मात्र डडेल्धुरामा मोटरसाइकल र कार एक आपसमा ठोक्किदा मोटरसाइकल चालक शम्भुसिंह धामको मृत्यु भएको छ । आलिताल गाउँपालिका-१ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको यूके ०६ बीसी २११२ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१००१ च २९५५ नम्बरको कार एक आपसमा ठोक्किदा दार्चुलाको मालिकार्जुन गाउँपालिका-४ ऐरीछानाका करिब ५४ वर्षीय धामीको उपचारको क्रममा धगगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो। त्यस्तै बुधबार डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ।

भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ घोरडीमा सुदूरपश्चिम प्रदेश ०१००२ त ६७२३ नम्बरको ट्याक्टर बुधवार साँझ दुर्घटना भएको हो । दुर्घटनामा परेर एक जनाको मृत्यु भयो भने १९ जना घाइते भए । दुर्घटनामा १८ वर्षीय सालिन राना मास्केमगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।

सुदूरपश्चिममा असोज २८ गते घटस्थापनादेखि कात्तिक ११ गते पूर्णिमासम्म मात्र सवारी दुर्घटनामा परेर थप ९ जनाको मृत्यु भएको छ । सो अवधिमा दुर्घटनामा परेर ११ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको अभिलेख छ ।

घटस्थापनादेखि पूर्णिमासम्म पाँच जिल्लामा सवारी दुर्घटना भएको रेकर्ड छ । सो अवधिमा कैलालीमा मात्र १० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । डडेल्धुरा, बझाङ, अछाम र बाजुरामा एक\एक जनाको मृत्यु भएको छ ।

२१ दिनको अवधिमा सवारी दुर्घटनामा परेर १६ जनाको मृत्यु भएको देखिएको छ । दर्जनौँको संख्यामा घाइते भएका छन् । दशैंको अवधिमा मात्र ट्राफिक नियम उल्लंघन गरि सवारीसाधन चलाउने दुई हजार ३ सय ८६ सवारी चालक कारबाहीबाट १५ लाख चार हजार राजश्व असुली भएको छ ।

गत वर्ष दशैं र तिहारका बेला भएका २४ वटा दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको थियो भने ४४ जना घाइते भएका थिए । विशेष गरी चाडपर्वको समयमा सवारी दुर्घटना सबैभन्दा बढी हुने गरेको छ ।

Loading...