कैलालीको गोदावरीमा मध्यरातमा घरमै आएर आक्रमण गर्न खोजेपछि भागेका युवक मृत भेटिए, दुई जना पक्राउ

यसरी घटेको रहेछ घटना

अत्तरिया : कैलालीको गोदावरी-१० खमौरामा मध्यरातमा घरमै आएर आक्रमण गर्न खोजेपछि भागेका एक युवक मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका-१० खमौराका ३५ वर्षीय शेरबहादुर चौधरी मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीकाअनुसार असोज २३ गते राती करिब २ बजे दुई जना युवक घरमै आएर मार्ने भन्दै ढोका तोड्न थालेपछि पछाडिको ढोकाबाट उनी भागेका थिए । राती घरभित्रै मारिने डरले भागेका चौधरीलाई खोज्ने क्रममा २४ गते दिउँसो ओलानी र गोदावरी नदी मिल्ने खोलाको दोभानमा मृत अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले बताए ।

चौधरीको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । बिहीबार मध्यराति चौधरीको घरमा आक्रमण गर्न पुगेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौधरीका छिमेकी समेत रहेका लक्की मल्ल र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका विकास मल्ल रहेका डीएसपी चन्दले बताए । उनकाअनुसार दुवै जनाविरुद्ध ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।

यसरी घटेको रहेछ घटना
डिएसपी चन्दका अनुसार २३ असोजको साँझ मृतकको घरमा उनका भाई रमेश चौधरीसंगै विकास र लक्की मल्लले कुखुरा र मदिरा सेवन गरेको खुलेकोे छ । उनीहरु सोही राति अत्तरियामा रहेको दोहोरी साँझमा गएका थिए । प्रहरीकाअनुसार दोहोरी साँझमा रमाइलो गर्ने क्रममा विवाद भएको थियो । विवादका क्रममा सँगै रहेका लक्कीले मृतकका भाई रमेशको गालामा झापट हानेर विवाद नगर्न भनेका थिए । तर, रमेशले तत्कालै फोन गरेर दाजु शेरबहादुर(मृतक) चौधरीलाई बोलाएका थिए । गाउँले नवराज भट्टसहित अत्तरिया पुगेका शेरबहादुरले भाइलाई कुटपिट गरेको भन्दै लक्की मल्ललाई झापट हानेका थिए । भाइ रमेशलाई लिएर घर गएका थिए तर विकास र लक्की मल्ल पनि उनीहरुको पछिपछि गएका थिए ।

पिछा गर्दै चौधरीको घरमा पुगेका उनीहरुले लाठीले हानेर घरको अगाढीको ढोका फुटाएर आक्रमण गर्न खोजेपछि शेरबहादुुर चौधरी राति नै भागेका थिए । घरबाट भागेपछि बेपत्ता भएका शेरबहादुरको शव दोस्रो दिन फेला परेको हो । मृतक सँगै अत्तरिया आएका नवराज भट्टलाई टेलिफोन गरेर आक्रमण गरेपछि आफू भागेको बताउँदै शेरबहादुरले आक्रमण गर्न घरमै आइरहेको सूचना दिएका थिए । उक्त सूचनापछि नवराजकी आमाले उनलाई लुकाएर राखेकी थिइन् भने तत्काल प्रहरीलाई खबर गरिएको थियो । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट आएको प्रहरी टोलीले दुवै जनालाई नवराज भट्टको घरमा आक्रमण गर्न गएका बेला पक्राउ गरेको थियो ।

नवराजले भने सोही राती लक्की र विकास आफूलाई पनि मार्न आएको हुन सक्ने बताउँदै प्रहरीलाई खबर गरेपछि ज्यान जोगिएको बताएका छन् । उनले घटना पछि गाउँ नै त्रसित भएको बताएका छन् । घरमा आक्रमण गरिएपछि भागेका शेरबहादुर चौधरी मृत भेटिएपछि घटना शंकास्पद रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइएको जनाएको छ । चौधरीका परिवारले भने उनको हत्या गरिएको भन्दै दोषीलाई कारवाहीको माग गरेका छन् । मृतकका आफन्तले घरको ढोकामा हान्दै मार्ने धम्की दिएका लक्की र विकासले नै शेरबहादुरलाई लखेटी लखेटी मारेको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी दिएका छन् ।

मृतकका भाइ रमेश चौधरीले दाइ घरबाट भाग्ने बित्तिकै पिछा गरेर उनीहरूले नै मारेर खोलामा फालेको बताए । उनले दाइको हत्या गर्नेलाई कडा कारबाही हुनु पर्ने माग समेत गरेका छन् । मृतककी भाइ बुहारी सलिना चौधरीले आफ्नो श्रीमानलाई पनि मार्ने धम्की दिएको भन्दै आफूहरू असुरक्षित भएको बताइन् । उनले आफ्नो जेठाजुलाई मार्नेलाई कारबाही सँगै आफ्नो परिवारको ज्यु ज्यानको सुरक्षा हुनुपर्ने बताइन् । डिएसपी चन्दले घटनाको अनुसन्धान जारी रहेको बताउँदै पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाइएको बताए । उनले पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको बारेमा थप जानकारी खुल्ने बताएका छन् ।

Dhn Upa. Dashain 2082
Loading...