कांग्रेसमा विशेष महाधिवेशनको माग, एमाले महाधिवेशन मङ्सिरमा

काठमाण्डौ : नेपाली कांग्रेसमा आधाभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका छन् ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हिजो महाधिवेशनको माग सहित निवेदन बुझाएका हुन् । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहित निवदेन बुझाइएको हो । युवा नेताहरुले विधानको धारा १७ अनुसार विशेष महाधिवेशनको माग गरेका हुन् ।

पार्टीको नीति, नेतृत्व, संरचनाबारे गहन छलफल र आत्मसमिक्षाका लागि केन्द्रीय समितिको निर्णय मात्रै अपर्याप्त रहेकाले नियमित वा विशेष महाधिवेशन एक मात्रै अहिलेको विकल्प भएको युवा नेताहरुको भनाइ छ । कांग्रेसमा १४औँ महाधिवेशन प्रतिनिधिको संख्या चार हजार सात सय ४३ छ । त्यसमध्ये विविध कारणले पार्टीमा नरहेका एक सय २८ जना छन् ।

विषेश महाधिवेशनको माग राखेर दुई हजार चार सय ८८ जनाले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसको पार्टीे विधानमा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित निवेदन दिएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ ।

हिजो विषेश महाधिवेशनका लागि निवेदन दर्ता हुनुअघि नै पार्टी सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिकाबाट बिदा लिइसक्नुभएको छ । उहाँले अस्ति मंगलवार केन्द्रीय कार्यसमितिको बैठकमार्फत उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो । देउवाको विदाइपछि पार्टी नेताहरु थप जिम्मेवार र संयमित भएर अघि बढ्नुपर्ने बहस कांग्रेसभित्र चलेको छ ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आउँदो मङ्सिरमा प्रस्ताव गर्नुभएको छ । हिजो बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले मङ्सिर २७ देखि २९ गते सम्मका लागि पोखरामा महाधिवेशन प्रस्ताव गर्नुभएको हो । उहाँको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ । एमालले एक वर्षअघि नै ११ महाधिवेशनको तयारी गरेको हो ।

एमालेको हिजोदेखि शुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई धेरै सदस्यले समर्थन गरेपनि केही नेताहरुले आउँदो फागुन २१ गतेको चुनावको तयारीमा जानुपर्ने सुझाव दिएका छन । तर ओलीले चुनाव भन्दा पनि संसद पुनस्र्थापनामा जोड दिंदै आउनुभएको छ । एमाले बैठकमा आज पनि नेताहरुले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रस्तावमा छलफल गर्दैछन् ।

Dhn_Tihar & Chhat 2082
Loading...