डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा आज रतेडी मेला लाग्दै छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी मेला र दोस्रो दिन दिउँसो देहिजाँत (दिउसेडी मेला) मनाइन्छ।
यस वर्ष कात्तिक १८ गते, अर्थात् आज, रतेडी मेला लाग्ने उग्रतारा मन्दिरका पुजारी पण्डित लोकराज भट्टले जानकारी दिएका छन् । उनका अनुसार, छचोडा, खनमडा, दुमडा र जिलोडा नामक चार गाउँमा उग्रतारा भगवती माताको भ्राण (देउरो भण्डार) रहेको छ । ती चार गाउँबाट रतेडी मेलामा १९ गते बिहान ४ बजेको समयमा देउरो मन्दिर पुग्नेछ र त्यसपछि दिउँसो देहिजाँत मेला सुरु हुनेछ ।
पण्डित भट्टका अनुसार, बिहान पूजाआजापछि भगवती माताको गाँज मन्दिरमा र विशेष चार स्थानमा बाजागाजा सहित घुमाइन्छ । दिउँसो चार गाउँबाट ल्याइएको माता भगवतीको देउरो बेलुका पुनः चार गाउँको भ्राणमा लगेर राखिएपछि मेला सम्पन्न हुनेछ ।
