भव्य बनाइँदै सिमल्टाको निङ्गलाशैनी भगवती मन्दिर, सहयोगको अपिल

श्याम बोहरा/परिगाउँ : डडेल्धुराको परशुराम नगरपालिका–३ सिमल्टामा अवस्थित श्री निङ्गलाशैनी भगवती मन्दिरलाई भव्य, आकर्षक र धार्मिक गन्तव्यका रूपमा विकास गरिदै छ।

मन्दिरका संस्थापक अध्यक्ष जयानन्द जोशीको नेतृत्वमा सञ्चालन भइरहेको महाअभियानमार्फत मन्दिर ब्यवस्थापनका कामहरु भइरहेका हुन् ।

महाअभियान मार्फत हालसम्म उठेको रकमबाट विद्युत् वायरिङ, हार्मोनियम, ढोलक, चिम्टा, अन्य सांस्कृतिक सामग्री र आधुनिक साउन्ड सिस्टम खरीद गरी मन्दिर समितिलाई हस्तान्तरण गरिएको संस्थापक अध्यक्ष जोशीले बताए।

यसले मन्दिरमा दैनिक पूजाआजा, भजन–कीर्तन तथा धार्मिक कार्यक्रमहरू संचालनमा सहजता ल्याएको समितिको भनाइ छ।

देश तथा विदेशबाट महाअभियानलाई सहयोग गर्ने दाता, स्थानीयवासी लगायतको प्रत्यक्ष सहयोगबाट मन्दिर ब्यवस्थापनमा सहज भएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राम सिहँ थलालले बताए।

आगामी दिनमा मन्दिरलाई अझ सुन्दर, सुरक्षित र सुविधासम्पन्न बनाउन परिसर विस्तार, बाटो–सिँढी सुधार, सरसफाइ तथा प्रकाश व्यवस्थापन सहितका पूर्वाधार निर्माणका योजनाहरू अघि सारिएको अध्यक्ष थलालले बताए ।

यसले गर्दा निङ्गलाशैनी भगवती मन्दिर धार्मिक पर्यटनको आकर्षक केन्द्र बन्न सक्ने सम्भावना समेत देखिएको स्थानीयवासी बताउँछन्।

मन्दिर विकास अभियानलाई निरन्तरता दिन समितिले देश–विदेशका सबै श्रद्धालु, भक्तजन र मातृभूमिमा आस्था राख्ने नेपालीहरूलाई यो पुण्य कार्यमा सहभागी हुन हार्दिक आग्रह गर्नुका साथै सहयोगको अपिल गरेको छ।

Deep Jyoti Pustak psl
Loading...