दार्चुलामा झण्डै आधाले घट्यो स्याउ उत्पादन

दार्चुला : दार्चुलामा यस वर्ष स्याउ उत्पादन झण्डै आधाले घटेको छ।

गत वर्ष करिब २ हजार २ सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा यस वर्ष मात्र १ हजार ३ सय मेट्रिक टन उत्पादन भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ दार्चुलाका प्रमुख कमल तामाङले जानकारी दिए।

उनका अनुसार अत्यधिक असिनापानीका कारण यस वर्ष उत्पादनमा ठूलो कमी आएको हो। जिल्लामा स्याउको उत्पादकत्व ८.३५ मेट्रिक टन प्रति हेक्टर रहेको उनले बताए।

हाल अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका, व्याँस गाउँपालिका र मार्मा गाउँपालिकामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत स्याउ खेती विस्तार भइरहेको छ। व्याँसको छाङरु, नौगाडको जात्रा र मानाकोट, अपिहिमालको पाथा, खण्डेश्वरी र लिथि जिल्लामा स्याउ उत्पादनका प्रमुख क्षेत्र हुन्।

तामाङका अनुसार राम्रो उत्पादन र बजार सम्भावना हुँदाहुँदै पनि कृषकहरूले व्यवसायिक रूपमा स्याउ खेती गर्न नसकिरहेका छन्। दार्चुलामा उत्पादन भएको अधिकांश स्याउ स्थानीय बजारमै खपत हुने गरेको छ।

Deep Jyoti Pustak psl
Loading...