श्याम बोहरा/परिगाँउ : डडेल्धुरा जिल्लाको परशुराम नगरपालीका १२ जोगबुडामा “चौथो भित्री मधेश पर्यटन व्यापार मेला–२०८२” (चौथो भित्री मधेश महोत्सव) भव्य रूपमा सञ्चालन हुने भएको छ।
जोगबुडा उद्योग वाणिज्य सङ्घको आयोजनामा यहि मङ्सिर १९ गतेदेखि २९ गतेसम्म जोगबुडा स्थीत परशुराम रंगमैदानमा भित्री मधेश महोत्सव सञ्चालन हुने भएको हो। मेलाको औपचारिक जानकारी सङ्घका अध्यक्ष हरिप्रसाद जोशीले आजै सार्वजनिक गरेका छन्।
हामीले मेलाबारे थप विवरणका लागि अध्यक्ष जोशीसँग सम्पर्क गर्दा उहाँ महोत्सवको तयारीमै अत्यन्त व्यस्त रहेको बताउँदै, तयारीहरू अन्तिम चरणमा पुगेको जानकारी दिए। आयोजकका अनुसार मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको दैनिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम र विशेष आकर्षक साङ्गीतिक सत्रहरू रहनेछन्।
यस्तै महोत्सवमा बिभिन्न स्थानिय स्वादका परिकारका स्टलहरु, चर्खा, बाल उद्यान, लगायत बिभिन्न आकर्षण रहने आयोजकले जनाएको छ मेलाले भित्री मधेश क्षेत्रको पर्यटन प्रवद्र्धन, स्थानीय बजारमा चहलपहल वृद्धि, र आर्थिक कारोबारमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
जोगबुडा उद्योग वाणिज्य सङ्घले मेलाका लागि आवश्यक सुरक्षा, व्यवस्थापन र पूर्वाधार तयार भइसकेको बताउँदै स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय स्तरबाट व्यापक सहभागिताको अपेक्षा गरेको छ।
