सुदूरपश्चिममा सबैभन्दा धेरै एचआइभी संक्रमित कैलालीको गोदावरीमा

धनगढी : सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये सबैभन्दा धेरै एचआइभी संक्रमित कैलालीको गोदावरी नगरपालिकामा रहेको पाइएको छ।

स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार गोदावरीमा हाल २ सय ९१ जना एचआइभी संक्रमित छन्, जुन प्रदेशकै सबैभन्दा उच्च संख्या हो। दोस्रोमा धनगढी उपमहानगरपालिका पर्छ, जहाँ २ सय ४४ जना संक्रमित रहेका छन्।

प्रदेशभरि १ सयदेखि २ सय संक्रमित भएकाहरू ८ स्थानीय तहमा छन् भने ५१ देखि १ सय संक्रमित रहेका स्थानीय तह १२ वटा छन्। त्यस्तै २१ देखि ५१ संक्रमित रहेका स्थानीय तह १६ छन् । सुदूरपश्चिमका ६ स्थानीय तहमा भने एचआइभी संक्रमितको संख्या शून्य छ। स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा धेरै नयाँ एचआइभी संक्रमित कैलालीमा भेटिएका छन्।

सो वर्षमा ७७ जना नयाँ संक्रमित थपिँदा कैलालीमा एचआइभी संक्रमितको कुल संख्या १ हजार ७ सय ४० पुगेको छ। सबैभन्दा कम सङ्क्रमण दार्चुलामा रहेको छ, जहाँ सो वर्ष ६ जना नयाँ संक्रमित पहिचान भई कुल संक्रमित संख्या ५० पुगेको छ। कैलालीपछि दोस्रो सबैभन्दा बढी संक्रमितको संख्या अछाममा रहेको छ।

गत वर्ष अछाममा ६ जना नयाँ संक्रमित थपिएकाले ५ सय ७० जना उपचाररत छन्। यस्तै, तराईका जिल्लामध्ये कञ्चनपुरमा ३३ जना नयाँ संक्रमित पहिचान भएसँगै कुल ४ सय ५५ जना उपचाररत रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ।

Deep Jyoti Pustak psl
Loading...