अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा सञ्चालित नगर स्तरीय १६औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधि दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयले जितेको छ । गोदावरी-२ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविले १८ स्वर्ण सहित ५३ पदक जितेर विजेता बनेको हो । दुर्गालक्ष्मीले १८ स्वर्ण, १३ रजत र २२ कांस्य पदक हात पारेको छ ।
साबिकको विजेता सैनिक आवासीयलाई पराजित गर्दै दुर्गालक्ष्मी नमुना माविले गोदावरी नगरस्तरिय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । अघिल्लो संस्करणमा १० स्वर्ण, १३ रजत र १९ कांस्य पदकसहित दोस्रो बनेको दुर्गालक्ष्मी यस पटक ८ स्वर्ण थप्दै पहिलो बनेको हो । साबिकको विजेता सैनिक आवासीयले भने यस पटक दोस्रोमा सीमित भएको छ ।
सैनिक आवासीय महाविद्यालयले १२ स्वर्ण १५ रजत र २० कांस्य सहित ४७ पदक जितेको छ । यसअघिको संस्करणमा सैनिक आवासीयले १३ स्वर्ण, १० रजत र १३ कांस्य पदक जितेको छ । प्रतियोगितामा दुर्गा भवानी मावि तेस्रो भएको छ । दुर्गा भवानीले ९ स्वर्ण, ४ रजत र ३ कांस्य गरी १६ पदक जितेको छ । दुर्गा भवानी यस अघिको संस्करणमा पनि १० स्वर्ण, ६ रजत र ५ कांस्य पदकसहित तेस्रो भएको थियो ।
प्रतियोगितामा शैलेश्वरी मावि ४ स्वर्ण, ४ रजत र ३ कांस्य सहित ११ पदक जित्दै चौथो भएको छ । यस्तै ४ स्वर्ण, १ रजत र २ कांस्य सहित ७ पदक जितेको लोटस आइ माविले पाँचौँ स्थान हात पारेको छ । ३ स्वर्ण १० रजत र ११ कांस्य सहित २४ पदक जितेको सत्यवती एकेडेमीले छैटौँ भएको छ । ३ स्वर्ण, ४ रजत र ८ कांस्य सहित १५ पदक जितेको सरस्वती मावि गेटा सातौँ भएको छ । यस्तै २ स्वर्ण, १ रजत र १ कांस्य सहित साधना पथ एकेडेमी लालपुर आठौँ, २ स्वर्ण, १ रजत सहित सरस्वती मावि ओलानी नवौँ, १ स्वर्ण, २ रजत र ३ कांस्य सहित पुष्पाञ्जली मावि दसौँ भएको छ ।
मंसिर १६ गते देखी सञ्चालन भएको प्रतियोगिता आज (बिहीबार) सम्पन्न भएको हो । प्रतियोगितामा पहिलो भएको दुर्गालक्ष्मीले २० हजार, दोस्रो भएको सैनिक आवासीयले १५ हजार र तेस्रो भएको दुर्गा भवानी मावि जमुनानगरले १० हजार सहित ट्रफि र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा पदक विजेता टिमलाई एक कार्यक्रमका बिच नगरप्रमुख वीरेन्द्र भट्टले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा २२ सामुदायिक र २१ संस्थागत गरी ४३ विद्यालयको सहभागिता रहेको थियो । जसमध्ये ९ विद्यालय पदक विहीन भएका छन् । प्रतियोगितामा कुल ६६ स्वर्ण, ६६ रजत र १०१ कांस्य गरी २३३ पदकका लागि प्रतिस्पर्धा भएको थियो । गोदावरी नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको व्यवस्थापन दुर्गालक्ष्मी नमुना मावि रहेको थियो ।
