बेलडाँडी गाउँपालिकाकी उपाध्यक्षसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा

कञ्चनपुर : कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका–२ मा नक्कली घर नक्सा तयार गरी बैंकबाट ऋण लिएको आरोपमा चार जना विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

अख्तियारले जग्गाधनीदेखि गाउँपालिकाका कर्मचारीसम्म संलग्न रहेको भन्दै चारै जना विरुद्ध बिहीवार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। अनुसन्धानका क्रममा बेलडाँडी–२ मा रहेको कित्ता नम्बर ३५७, क्षेत्रफल चार सय वर्ग फिटको जग्गामा वास्तविक रूपमा कुनै पक्की घर वा अन्य संरचना नै नभएको स्पष्ट भए पनि, सोही जग्गामा तीन तला भएको पक्की घर रहेको भनी झुट्टा नक्सा तयार गरी पास गरिएको पाइएको हो।

सो नक्सामा ग्राउण्ड फ्लोरमा ६९१.१३ वर्ग फिट क्षेत्रफलसहितका कोठा तथा सोअनुसारका संरचना देखाइएका थिए। यो नक्कली नक्सा बनेको आधारमा जग्गाधनी शान्ती नाथ र रक्ष्मी सनाईज बैंकले २०७८/१२/१० तथा २०७९/०६/१३ मा गरी ३३ लाख ७५ हजार ऋण लिएको देखिएको छ। नापी कार्यालय र समानान्तर रूपमा तयार पारिएको फील्ड प्रतिवेदनले समेत सो जग्गामा कुनै पनि पक्की संरचना नभएको पुष्टि गरेपछि नक्सा पास प्रक्रिया नै फर्जी ठहरिएको अख्तियारले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

मुद्दामा तत्कालीन बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमप्रसाद जोशी, सब–इन्जिनियर जय कुँवर र असिस्टेण्ट सब–इन्जिनियर तेजबहादुर सुनार र जग्गाधनी शान्ती नाथलाई एकआपसमा मिलेर भ्रष्टाचार गरेको आरोप लगाइएको छ। उनीहरूले नक्कली कागजात तयार गरी घर नक्सा पास गराउने र ऋण लिन सहयोग गर्ने कार्यमा संलग्न रहेको आरोपपत्रमा उल्लेख गरिएको छ।

विशेष अदालतमा दायर आरोपपत्रअनुसार पदमप्रसाद जोशी, जय कुँवर र तेजबहादुर सुनारमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम कारबाही माग गरिएको छ। यस्तै, जग्गाधनी शान्ती नाथमाथि पनि कागजात फर्जी बनाएर लाभ लिन खोजेको तथा भ्रष्टाचारमा सहयोग गरेको अभियोगमा कारबाही गर्न माग गरिएको छ।

यता उपाध्यक्ष नाथले भने कित्ता नम्बर १५७ मा तीन तले घर बनेको तर नक्सा दर्ता गर्दा कित्ता नम्बर ३५७ उल्लेख भएकाले त्रुटि भएको बताएकी छन्। उनले आफूले बैंकको ऋणसमेत चुक्ता गरिसकेको अवस्थामा षडयन्त्रपूर्वक आफू विरुद्ध अख्तियारमा मुद्दा हालिएको दाबी गरेकी छन्।

उनले फरक कित्तामा घर बनेकाले उक्त विवरण सच्याउन गाउँपालिकामा निवेदन दिँदासमेत आफू विरुद्ध षडयन्त्रमा उत्रिएको व्यक्तिहरुको दबाबका कारण अध्यक्षले आफ्नो निवेदन उपर कुनै कारबाही गर्न नसकेको बताएकी छन्

 

Deep Jyoti Pustak psl
Loading...