अत्तरिया : कैलालीको अत्तरियामा जारी प्रथम सत्यवती छात्र फुटबल कप अन्तरगत पहिलो दिन ८ वटा खेलहरु सम्पन्न भएका छन् । सत्यवती एकेडेमीको आयोजनामा सञ्चालन भैरहेको प्रतियोगितामा पहिलो दिन सोमबार ८ वटा खेलहरु सम्पन्न भएका हुन । प्रतियोगिता अन्तरगतको सोमबारको पहिलो खेलमा समैजी मावि विजयी भएको छ । आयोजक सत्यवती एकेडेमीलाई २-० गोलअन्तरले पराजित गर्दै समैजीले विजयी सुरुवात गरेको हो । उक्त खेलमा समैजी माविका खेलाडी अनिस नेपाली प्लेयर अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा लोटस आई मावि विजयी भएको छ । विद्याभुषण पब्लिक स्कुललाई ५-० गोलअन्तरले पराजित गर्दै लोटस विजयी भएको हो । खेलको प्लेयर अफ द म्याच लोटसका प्रिन्स नागरी घोषित भए । त्यसैगरी प्रतियोगिता अन्तरगतको पहिलो दिनको तेस्रो खेलमा दुर्गाज्योती स्कुल विजयी भएको छ भने चौथो खेलमा एरिष्टो मावि विजयी भएको छ । एरिष्टो माविले सक्षम पाठशालालाई ३-० गोलअन्तरले पराजित गरेको हो । खेलको प्लेयर अफ द म्याच उमेर कुँवर घोषित भए । यस्तै पाँचौ खेलमा सनलाईट स्कुल विजयी भएको छ । ज्ञानज्योती एकेडेमीलाई ट्राईब्रेकरमा पराजित गर्दै सनलाईट विजयी भएको हो । खेलमा अमित लुहार प्लेयर अफ द म्याच घोषित भए ।
त्यसैगरी छैठौ खेलमा पुष्पाञ्जली एकेडेमी विजयी भएको छ । पुष्पाञ्जलीले ज्ञानदिप स्कुललाई ३-१ गोलअन्तरले पराजित गरेको हो । खेलको प्लेयर अफ द म्याच हिमान्स भट्ट घोषित भए । त्यस्तै सातौ खेलमा दुर्गा भवानी मावि विजयी भएको छ । किड्स जोन एकेडेमीलाई ३-० गोलअन्तरले पराजित गर्दै दुर्गाभवानी विजयी भएको हो । खेलको प्लेयर अफ द म्याच सन्तोष बिष्ट घोषित भए ।
सोमबार प्रतियोगिताको पहिलो दिनको अन्तिम खेलमा साधना पथ एकेडेमी विजयी भएको छ । जनकल्याण एकेडेमीलाई २-० गोलअन्तरले पराजित गर्दै साधना पथले जित हासिल गरेको हो । खेलमा लिलम साउँद प्लेयर अफ द म्याच घोषित भए ।
आज (सोमबार) बाट सुरु भएको प्रतियोगिता पुष २ गते (बुधबार) सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ। साथै उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर र प्लेयर अफ द टुर्नामेन्टलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।