दार्चुलाको मार्मामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुला : दार्चुलाको मार्मा गाउँपालिका–३ स्थित गोकुलेश्वर–लटिनाथ भित्री सडकखण्डमा हिजो साँझ ८ः५५ बजे भएको जिप दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

मार्मा गाउँपालिका–६ सेरी निवासी २६ वर्षीय माधव महराले चलाएको सुप.प्र. ०१–००१ च २६०४ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २०० देखि २५० मिटर तल खसेको थियो।

दुर्घटनामा जिपमा सवार मार्मा गाउँपालिका–३ भैसेका २२ वर्षीय केशव राज जोशी जिपले च्यापिएको अवस्थामा फेला परेका थिए। घटनास्थलमै तत्काल उद्धार गरी उनलाई उपचारका लागि मार्मा आधारभूत स्वास्थ्य चौकी ल्याइएको थियो। तर उपचारका क्रममा जोशीको मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ।

दुर्घटनापछि जिप घटनास्थलमै रहेको छ भने चालक माधव महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जानकारी दिएको छ।

Loading...