अत्तरियामा करियर स्टेसन पिएफए भेट्रान्स कप क्रिकेट प्रतियोगिता हुदै 

अत्तरिया : कैलालीको अत्तरियामा करियर स्टेशन पिएफए भेट्रान्स कप क्रिकेट प्रतियोगिताको सातौ संस्करण आयोजना हुने भएको छ। यहि पौष १५ गते देखि अत्तरियामा रहेको पिएफए स्पोटर्स क्लबले प्रतियोगीताको आयोजना गर्न लागेको हो ।

पौष २६ गतेसम्म संचालन हुने प्रतियोगिताको आज (शनिबार) पत्रकार सम्मेलनको आयोजना गरि ट्रफी सार्वजनिक गरिएको छ । प्रतियोगिताको विजेता टिमले नगद १ लाख २५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उप विजेता टिमले नगद ६५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा म्यान अफ द सिरिज लाई नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समान नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक क्लबका महासचिव सिद्ध बोहराले जानकारी दिए । उनले प्रतियोगितामा ४० वर्ष पुगेका भेट्रान्स खेलाडीलाइ बेस्ट भेट्रान्स अवार्डले सम्मानित गरिने बताए । गत वर्षको तुलनमा प्रतियोगिताका सम्पुर्ण नगद धनराशीका पुरस्कारहरुमा २५ प्रतिशतले वृद्धि गरिएको उनले बताए ।

लिग कम नक आउट चरणमा खेलाइने प्रतियोगितामा कैलाली कंचनपुरका ८ वटा टीमको सहभागीता रहेको छ । जसमा गत वर्ष खेलेका सबै टिमहरु सहभागी रहेको क्लबका महासचिव बोहराले जानकारी दिए ।

टेनिस बलले खेलाइने प्रतियोगिता टि-२० फर्म्याट खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तरगतका खेलहरु खेल्न एउटा टिमले प्लेइङ ११ मा ४ जना खेलाडी ३२ वर्ष उमेर पूरा भएको र ७ जना खेलाडी ३५ वर्ष पूरा भएको राख्नुपर्ने क्लबका महासचिव बोहराले बताए । उनले त्यसमध्ये पनि २ जना खेलाडी ४० वर्ष पूरा भएको हुनुपर्ने बताए ।

सहभागी टिमहरुमा महेन्द्रनगर ब्वाइज, अनुपमा अलराउन्डर्स, बुढा बाग, गेटा रोयल्स, अत्तरिया सिटी क्रिकेट क्लब, गुलरिया बुल्स, कैनोडा लायन्स र न्यु ग्वासी सहारा क्यापिटल्स रहेका छन् ।

Loading...