अत्तरिया: कैलालीको गोदावरी नगरपालिका-३ मालाखेती स्थित गोदावरी महिला कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सहकारीकी अध्यक्ष बिष्नादेबी फुलाराको अध्यक्षतामा भएको साधारणसभामा सहकारीको आर्थिक प्रतिवेदन, प्रगति विवरण तथा आगामी कार्ययोजनामाथि साधारणसभामा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै सहकारीकी अध्यक्षले महिलाको आर्थिक सशक्तीकरणमा सहकारीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन् । उनले कृषि उत्पादन, बचत तथा ऋण कार्यक्रममार्फत स्थानीय महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् ।
यस्तै शनिबार भएको साधारणसभाले अघिल्लो कार्यकालकै नेतृत्वलाई पुनः दोहोर्याउँदै नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाबाट अध्यक्ष बिष्नादेबी फुलारा, उपाध्यक्ष शारदा खड्का सहित सम्पूर्ण नेतृत्व सर्वसम्मत रूपमा पुनः निर्वाचित भएका हुन् ।
सदस्यहरुमा कलावती शर्मा, कलावती भट्ट, लक्ष्मी जोशी, कृष्णा शर्मा, जुगमनि चौधरी, राधिका देवी ओझा र कुन्ति फुलारा पनेरु पुनः निर्वाचित भएका हुन् । साधारणसभामा सहकारीका सेयर सदस्यहरू, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
२०७८ सालमा गाउँघरका महिलाहरुले सञ्चालन गरेको सहकारीमा हाल ७५ बढी शेयर सदस्यहरु रहेका सहकारीकी प्रबन्धक कल्पना ओझाले बताईन् । सहकारीले आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म ९ लाख ५९ हजार ३ सय १६ कारोबार गरेको छ ।