बेदकोटका ९३ जनालाई जग्गाधनी पूर्जा

कञ्चनपुर : जिल्ला भूमि समस्या समाधान आयोगले कञ्चनपुरको बेदकोट नगरपालिकामा ९३ जनालाई जग्गाधनी पूर्जा प्रदान गरेको छ।

६ दशकदेखि ऐलानी जमिनमा बसोबास गर्दै आएका भूमिहीन नागरिकलाई बिहीवार जग्गाधनी पूर्जा हस्तान्तरण गरेको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले जानकारी दिए। उनका अनुसार बेदकोट नगरपालिका–८ का ६३ जना र बेदकोट–६ का ३० जनालाई जग्गाधनी पूर्जा वितरण गरिएको हो।

“पालिकामा बाँकी सात वडाका ५०० बढी जग्गाधनी पूर्जा भूमिहिन नागरिकलाई दिने योजना छ”, नगरप्रमुख बोहराले भने, “यसअघि सेतो पूर्जा पाएका भूमिहीन नागरिकलाई पूर्ण स्वामित्वको जग्गाधनी पूर्जा दिइएको हो।”

विसं २०२२ सालदेखि बसोबास गर्दै आएका भूमिहीन नागरिकले जग्गाको स्वामित्व पाएपछि खुसी व्यक्त गरेका छन्। “बाजेको पालादेखि भोगचलन गरेको जग्गाको स्वामित्व अहिले पाए”, स्थानीय रतनराम लुहारले भनखे, “भोगचलन गरेको ६० वर्षपछि जग्गाधनी पूर्जा पाउँदा खुसी छौँ।”

भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले देशभरका वडा र स्थानीय तह सक्रिय रुपमा लागे भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा प्रदान गर्न सकिने बताए।

Deep Jyoti Pustak psl
Loading...