डडेल्धुरा : डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
जिल्लाको परशुराम नगरपालिका–९ कुयापानीस्थित जोगबुढा–दैजी सडक खण्डमा हिजो साँझ १८ः३० बजे जोगबुढाबाट गाईबाधेतर्फ जाँदै गरेको से २ त १४७४ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक परशुराम नगरपालिका–१२ पन्तुरा बस्ने २७ वर्षीय नबिन साउद र मोटरसाइकल पछाडि सवार सोही स्थानका ३५ वर्षीय मान जाग्री गम्भीर घाइते भएका थिए।
घाइते दुवै जनालाई उपचारका लागि जोगबुढा अस्पताल, जोगबुढा लगिएकोमा चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका हुन्। दुर्घटनामा संलग्न ट्याक्टर चालक परशुराम नगरपालिका–९ सतघाट बस्ने ३२ वर्षीय शुरेस भट्ट फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
