धनगढी : लागूऔषध तथा कुटपिट मुद्दामा फरार रहेका विभिन्न जिल्लाका चार जना व्यक्तिहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको छ।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ४ महिना कैद सजाय तोकिएपछि फरार रहेका लम्कीचुहा नगरपालिका–१ भुरुवा निवासी प्रकाश विकलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले उनकै घरबाट पक्राउ गरेको हो।
यस्तै, लागूऔषध (चरेश) मुद्दामा ११ वर्षदेखि फरार रहेका बझाङको थलरा गाउँपालिका–३ का ३९ वर्षीय गोकर्णबहादुर सिंह पनि पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको २०७१ मंसिर ४ गतेको फैसलाले सिंहलाई ११ महिना २६ दिन कैद र ८० हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङको टोलीले जयपृथ्वी नगरपालिका–१० चैनपुर बजारबाट नियन्त्रणमा लिएको जनाएको छ।
उता, धनगढी उपमहानगरपालिकाबाट लागूऔषध कारोबारमा संलग्न एक महिला पनि पक्राउ परेकी छन्। धनगढी–३ बिशालनगर घर भई हाल धनगढी–८ बुद्धचोकमा भाडामा बस्दै आएकी २५ वर्षीया लक्ष्मी चौधरीलाई चेकजाँचका क्रममा ९ ग्राम ८४० मिलिग्राम खैरो हेरोइन र डिजिटल काँटासहित पक्राउ गरिएको हो।
उनलाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो धनगढीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
त्यसैगरी, कुटपिट मुद्दामा १ महिना कैद सजाय तोकिएपछि फरार रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर निवासी २५ वर्षीय हरिश दमाईलाई प्रहरी चौकी जिमुवाबाट खटिएको टोलीले उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।