अत्तरिया : कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । सेभ हाउसको अक्षयकोष स्थापनार्थ माघ २६ देखि फागुन ३ गते सम्म महायज्ञ आयोजना गर्न लागिएको हो ।
बुधवार सेभ हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पत्रकार सम्मेलनमा बोल्दै मूल आयोजक समितिका संयोजक पदमराज जोशीले सेभ हाउसमा आश्रित बालबालिकाको संरक्षण तथा संस्थाको दीर्घकालीन व्यवस्थापनका लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको बताए ।
सेभ हाउसकी अध्यक्ष जानकी मलासीले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट सङ्कलन भएको रकमबाट अक्षयकोष बनाएर त्यसको ब्याजबाट आएको रकमले सहज होला भन्ने उद्देश्य रहेको बताइन् । उनले हाल पदमा अस्पतालले उपलब्ध गराएको भवनमा निःशुल्क रूपमा बसेको भए पनि अन्य खर्च व्यवस्थापनमा निकै समस्या भएको बताइन् । उनले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सहयोग गरिदिन आग्रह गरिन । सेभ हाउमा हाल ४६ बालबालिका र २ जना महिला भएको र आउने जाने क्रम जारी रहने बताइन् ।
संस्थाका संरक्षक तथा हायज्ञका आर्थिक संयोजक डा. नरबहादुर मौनीले संस्था सञ्चालन गर्न आर्थिक कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै सोही कारण महायज्ञको योजना बनाइएको बताए । उनले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका लागि तयारी भइरहेको बताएका छन् । महायज्ञलाई सफल बनाउन सबै धर्मप्रेमी तथा सहयोगी हातहरूलाई साथ दिन आर्थिक संयोजक डा. मौनीले आग्रह समेत गरेका छन् ।
श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका मुख्य कथा वाचक पुज्या देवी सुमी मानव रहेको जनाइएको छ । महायज्ञको अवसरमा माघ २६ गते शोभा (कलश) यात्रा निकालिने आयोजकले जनाएको छ । यस्तै माघ २७ गतेदेखि फागुन ३ गतेसम्म पूजा-पाठ पारायण, महात्म्य, कथा प्रवचन तथा प्रत्येक दिन साँझ सिंगारिक महाआरती आयोजना हुने जनाइएको छ ।
महायज्ञ अवधिभर अन्नदान, मुठीदान, तुलादान, व्रतबन्ध तथा विवाह लगायतका धार्मिक कार्यक्रमहरू समेत सञ्चालन गरिनेछ । महायज्ञ सफल पार्न ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिको संयोजकमा धार्मिक व्यक्तित्व पदमराज जोशी रहेका छन् भने तयारीका लागि विभिन्न उप-समिति पनि गठन गरिएको आयोजकले जनाएको छ ।
