अत्तरिया : कैलालीको गोदावरी ३ मा रहेको ग्वासी माध्यमिक विद्यालयको चारकोठे भवन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
आज बसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले शिक्षा र स्वास्थ्य क्षेत्रलाई गोदावरी नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताए । उनले परिणामभन्दा गुणस्तरीय शिक्षा महत्त्वपूर्ण भएको उल्लेख गर्दै शिक्षकहरूलाई केवल रिजल्ट होइन, विद्यार्थीको भविष्य निर्माणमा ध्यान दिन आग्रह गरेका छन् ।
नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकको तलबको जिम्मेवारी लिएको बताउदै उनले भौतिक पूर्वाधारमा निरन्तर लगानी भइरहेको र समन्वयका आधारमा थप भवन निर्माण गरिएको बताए । विद्यालय सबैको साझा सम्पत्ति भएकाले यसको विकासमा सबैको भूमिका हुनुपर्ने बताउदै उनले अभिभावक, शिक्षक र समुदायलाई सहकार्य गर्न पनि आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगरप्रमुख भट्टले विद्यालय स्थापनादेखि योगदान पुर्याउने व्यक्तित्वप्रति सम्मान प्रकट गरेका छन् ।
नगरपालिका र प्रदेश सरकारको ३०९३० लाख लगानीमा ४ कोठे पक्की भवन निर्माण गरिएको बताईएको छ । यस्तै कार्यक्रममा विद्यालय स्थापनादेखि योगदान पुर्याउने बिभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।


