अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० मा सञ्चालनमा ल्याएको ‘बुक फ्रि फ्राइडे’ प्रभावकारी बन्दै गएको छ । वडाले २०८१ सालदेखी वडामा रहेको जानकी माध्यमिक विद्यालयमा नमुनाको रुपमा सूरु गरेको बुक फ्रि फ्राईडे पछिल्लो समय वडामा प्रभावकारी बन्दै गईरहेको हो ।
विद्यालयमा ‘बुक फ्रि फ्राइडे’ सञ्चालनमा ल्याएपछि विद्यार्थीहरु सक्रिय रुपमा अतिरिक्त क्रियाकलापमा सहभागी हुन थालेको वडाध्यक्ष रविन्द्र शाही (गुड्डु)ले बताए । उनले विद्यालयमा ‘बुक फ्रि फ्राइडे’ सञ्चालनमा ल्याउदा विद्यार्थीहरुले शुक्रबार किताब बिनै विद्यालय आउने र विभिन्न अतिरिक्त क्रियाकलापहरु गर्ने गरेको बताए । ‘हामीले बुक फ्रि फ्राईडे सुरु गरेपछि अहिले विद्यार्थीहरुले आफ्ना अन्तरनिहित प्रतिभाहरु बाहिर ल्याउने अवसर पाएका छन’ उनले भने ‘जसका कारण पछिल्लो समय अतिरिक्त क्रियाकलापहरुमा विद्यार्थीको सहभागिता बढ्दै गईरहेको छ ।’
सो कार्यक्रमले विद्यार्थीहरुमा मात्रै नभई अभिभावकहरुमा पनि सकारात्मक प्रभाव पारेको वडाध्यक्ष शाहीले बताए । उनले नमुनाका रुपमा सुरुवात गरेको विद्यालयमा बुक फ्रि फ्राईडेको प्रभावकारीता राम्रो देखेपछि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेर वडामा रहेको ४ वटा विद्यालयहरुमा बुक फ्रि फ्राईडे सञ्चालन गरेको बताएका छन् । बुक फ्रि फ्राईडे सुरु गरेदेखी विद्यार्थीहरु मात्रै नभई अभिभावकहरुले पनि अतिरिक्त क्रियाकलापको महत्वको बारेमा जानकारी पाएको उनले बताए ।
शुक्रबार माघ १६ गते परेको सहिद दिवस वडाका सबै विद्यालयहरुले मनाएका थिए । नगरभित्रका अन्य अधिकांश सामुदायिक विद्यालयहरु बन्द रहदा वडामा रहेका विद्यालयहरुले भने विभिन्न कार्यक्रमहरु गर्दै सहिद दिवस मनाएको वडाध्यक्ष शाहीले बताएका छन् ।
