युवा नेता बलायरको डोटेली प्रतिनिधि सभा उम्मेदवारलाई कडा प्रश्न 

अत्तरिया : डोटीका युवा नेता दिपक बलायरले प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धामा रहेका सबै उम्मेदवारहरूसँग सार्वजनिक सवाल-जवाफको माग गरेका छन् । उनले डोटी जिल्ला तथा सेती रिभर बेसिन वरपर बसोबास गर्ने नागरिकहरूको तर्फबाट उम्मेदवारहरूसँग सार्वजनिक सवाल-जवाफको माग गरेका हुन् ।

उनले पश्चिम सेती आयोजनाको नाममा शिखर नगरपालिका, डडेल्धुरा, बैतडी, अछाम, बझाङ लगायत सेती नदी किनारका जनताको जीविकोपार्जन सुधार हुन नसकेको भन्दै गम्भीर प्रश्न उठाएका छन् ।

उनको प्रश्नमा बझाङको शिरबाट सुरु भई कर्णालीमा मिसिने सेती नदीमा हालसम्म कति झोलुङ्गे तथा मोटरेबल पुल निर्माण भए, ती पुलहरू कुन जनप्रतिनिधिको कार्यकालमा सम्पन्न भए भन्ने विषय समावेश छ । साथै सेती रिभर बेसिन क्षेत्रका जनतालाई आधारभूत कनेक्टिभिटी आवश्यक नरहेको हो भन्ने प्रश्नसहित, तीन घण्टा हिँडेर सेती बगर हुँदै विद्यालय जानुपर्ने बाध्यता अझै कति दशक कायम रहने हो भन्ने चिन्ता व्यक्त गरेका छन् ।

त्यसैगरी वानेडुग्रिसैन-सातनाली जोड्ने पुल कहिले शिलान्यास भयो र कहिले सम्पन्न हुन्छ भन्ने स्पष्ट जवाफ उम्मेदवारहरूबाट माग गरिएको छ । पर्यटन तथा धार्मिक क्षेत्रको उत्थान, विद्यालयको गुणस्तरीय सुधारजस्ता विषयमा समेत उम्मेदवारहरूले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

युवा नेता बलायरले सबै निर्वाचन उम्मेदवारलाई यी सवालको जवाफ दिन आह्वान गरेका छन् । उम्मेदवार स्वयंले जवाफ नदिएमा उनीहरूका पछाडि हिँडिरहेका कार्यकर्ताले पनि उत्तर दिन सक्ने उल्लेख गरिएको छ ।

Loading...