बैतडी : बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।
बिहीबार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको सुपप्र ०२००१ ख १११९ नम्बरको बस राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट करीब १५० मिटर तल खसेको छ ।
दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका – ७ का ४० वर्षीय केशब राज जोशी, सोही ठाउका १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेश राज जोशी रहेका छन । यस्तै केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्त राज रतला र बैतडीको पुर्चौडी नगरपालिका–७ की ४० वर्षीय पुष्पा अवस्थी रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा अहिले पनि उद्धारको काम चलिरहेको छ । ४५ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।