अत्तरिया : कैलालीको अत्तरियामा ‘दुर्गालक्ष्मी दौडिन्छ..’ म्याराथुन प्रतियोगिता आयोजना हुने भएको छ । दुर्गालक्ष्मी नमुना माविमा गठित पूर्व विद्यार्थी मञ्चको आयोजनामा फागुन ७ गते म्याराथुन प्रतियोगिता आयोजना हुने भएको हो ।
‘दुर्गालक्ष्मी दौडिन्छ..’ शिर्षक दिईएको सो म्याराथुन प्रतियोगिताको बारेमा आयोजक दुर्गालक्ष्मी पूर्व विद्यार्थी मञ्चले आईतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार नगद रु. २५ हजार ५५५ रहेको छ भने द्धितिय पुरस्कार १५ हजार ५५५ रहेको प्रतियोगिताका संयोजक एवम् पूर्व विद्यार्थी मञ्चका सदस्य प्रेमराज भट्टले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको तृतिय पुरस्कार नगद रु. ५ हजार ५५५ रहेको छ ।
भट्टले महिला सहभागीहरुमध्येबाट उत्कृष्ट सहभागिलाई पनि पुरस्कारको व्यवस्था गरिएको बताए । उनका अनुसार प्रतियोगितामा सहभागि भएर उत्कृष्ट प्रदर्शन गर्ने महिला धावकलाई नगद रु. ५ हजार ५५५ रुपैया प्रदान गरिनेछ ।
प्रतियोगितामा दुर्गालक्ष्मी नमुना माविमा अध्यापन गरेका पूर्वविद्यार्थीहरु मात्रै सहभागि हुन पाउने भट्टले बताए । उनका अनुसार प्रतियोगितामा महिला र पुरुष दुवै धावकहरुलाई सँगै दौडाईनेछ। उनले म्याराथुन प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने योजना रहेको बताए ।
उनले दुर्गालक्ष्मी नमुना माविकै अगाडीबाट सुरु हुने म्याराथुन प्रतियोगिता गोदावरी पुलमा पुगेर समापन हुने बताए । उनले म्याराथुन समाप्त भएपश्चात गोदावरी धाममा पूर्व विद्यार्थीहरुका लागि पिकनिक कार्यक्रम आयोजना गरिने बताए ।
म्याराथुन प्रतियोगिताको यस वर्षको नारा ‘दौड स्वास्थ्यका लागि, भेटौँ मित्रताका लागि’ रहेको छ ।