अत्तरिया : कैलालीको गोदावरीमा सञ्चालन भइरहेको श्रीमद् भागवत ज्ञान महायज्ञमा महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष जानकी मलासीले तुला दान गरेकी छन् ।
सेभ हाउसकै आयोजनामा सञ्चालन गरिएको महायज्ञमा उनले आफ्नो तौल बराबरको सामग्री दान गरेकी हुन् । तुला दान कार्यक्रममा उनका छोराहरू सुरेश मलासी, मनोज मलासी, बुहारीहरू तथा छोरीहरू कमला बिष्ट र गीता पुजारा लगायत परिवारजनको उपस्थिति रहेको थियो ।
हिन्दू धर्ममा तुला दानलाई विशेष महादानका रूपमा लिने गरिन्छ । यसमा व्यक्तिले आफ्नो शरीरको तौल बराबरको वस्तु (जस्तैः अन्न, सिक्का, गुड, सुन आदि) तराजुमा राखेर दान गर्ने धार्मिक परम्परा रहेको छ । जानकी मलासीले विगत लामो समयदेखि अनाथ तथा असहाय बालबालिकाको संरक्षण गर्दै आएकी छन् ।
आश्रित बालबालिकाको पालनपोषणमा सहजता ल्याउने उद्देश्यले महायज्ञ आयोजना गरिएको जनाइएको छ । महायज्ञ आइतबार धार्मिक विधिअनुसार समापन गरिएको आयोजकले जानकारी दिएका छन् ।
