गोदावरी : कैलालीको गोदावरी नगरपालिका–२ तेघरीस्थित जनकल्याण इङ्लिस स्कुलको २८औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका सञ्चालक यज्ञ हमालको सभापतित्वमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान का उपकुलपति डा. टिन एन जोशी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा गोदावरी नगरपालिका की उपप्रमुख शारदा देवी रोकाया विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। वार्षिकोत्सवका अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत तथा अन्य रचनात्मक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममार्फत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका साथै अभिभावक तथा अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको विद्यालयले जनाएको छ।
विद्यालय व्यवस्थापनले विगत २८ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको विद्यालयका सञ्चालक यज्ञ हमालले बताए।
