सेती अस्पतालमा दार्चुलाकी एक महिलाले तिम्ल्याहा बच्चा जन्माइन्

धनगढी : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा दार्चुलाकी एक महिलाले तीन बच्चालाई जन्म दिएकी छन् । बुधवार दार्चुलाकी ३१ वर्षीय गर्भवती महिलाले तिम्ल्याहा बच्चा जन्मिएको सेती प्रादेशिक अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख डाक्टर खगेन्द्रप्रसाद भट्टले बताए ।

उनका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर र बाल चिकित्सकसहितको टोलीले आमाको सफल शल्यक्रिया गरेर दुई छोरा र एक छोरीको जन्म भएको हो । डाक्टर भट्टका अनुसार ३१ वर्षीय गर्भवती महिलाको यसअघि दुई छोरी छन् भने यो पटक गर्भ बसेको पाँच महिनादेखि सेती अस्पतालमा नियमित गर्भ जाँच गराउँदै आएकी थिइन् ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर प्रतिक्षा सिंह राठौर नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलीले सफल शल्यक्रिया गरेर तीनै जना बच्चाको आठ महिनामा जन्म भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । शल्यक्रिया गरेर जन्मिएका तीनै जना शिशुको तौल दुई किलोग्राम भन्दा केही बढी छ भने एक बच्चालाई मात्रै एनआइसियूमा राखिएको तर आमा र तीनै जना शिशुको अवस्था सामान्य रहेको बताइएको छ ।

एक बच्चाको तौल अलि कम भएकाले एनआइसियूमा राखिएको अस्पतालले जनाएको छ । अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख डाक्टर भट्टले महिलाको प्राकृतिक अवस्थामै गर्भ रहेको र तीन बच्चा भएकाले आठ महिनामै शल्यक्रिया गर्नुपरेको जानकारी दिए ।

Loading...