सुप समावेशी आधारभुत विद्यालयलाई विभिन्न सामग्री सहयोग

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-२ मा रहेको सुप समावेशी आधारभुत विद्यालयलाई विभिन्न सामग्रीहरु सहयोग गरिएको छ । बिहिबार सैनिक आवाशिय महाविद्यालय लगायत, समौजी किचन सप, फिटनेस प्लानेट जिम तथा जुम्बा हाउस र माँ निंगलासैनी निर्माण सेवा प्रा.लि. ले विद्यालयलाई विभिन्न शैक्षिक सामाग्रीका साथै अन्य सामग्रीहरु पनि सहयोग गरेका हुन ।

विद्यालयमा सैनिक आवाशिय महाविद्यालयले अन्तरक्रिया तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा नै अन्य विभिन्न सहयोगीदाताहरुले सहयोग गरेको विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले बताए । सैनिक आवाशिय महाविद्यालयले आफ्ना विद्यालयका विद्यार्थी र सुप समावेशी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका बिचमा अन्तरक्रिया गरेको थियो । जसमा विद्यार्थीहरुले एक अर्काको विद्यालय तथा विद्यार्थीहरुको वस्तुस्थितिका बारेमा जानकारी राख्ने अवसर पाएको साउँदले बताए ।

कार्यक्रममा सैनिक आवाशिय महाविद्यालयले सानो ठुलो गरी ३६० गोटा कपी, रातो र कालो ८९ गोटा कलम, १५८ गोटा पेन्सिल, १५८ गोटा इरेजर, १५८ गोटा कटर र सानो ठुलो गरी ७९ गोटा स्कुल ब्याग विद्यालयलाई हस्तान्तरण गरेको थियो । समौजी किचन सप ले पनि विद्यालयलाई शैक्षिक सामग्री र विभिन्न भाडाकुडाहरु सहयोग गरेको थियो । विद्यालयका संस्थापक अध्यक्ष साउँदका अनुसार समौजी किचन सपले सुप समावेशी आधारभुत विद्यालयलाई सानो र ठुलो मिलाएर २३८ गोटा कापी सहयोग गरेको थियो भने ३० गोटा गिलास, ३० गोटा थाल र २ वटा बाटा पनि सहयोग गरेको थियो ।

त्यस्तै माँ निंगलाशैनी निर्माण सेवा प्रा.लि. विद्यालयलाई २५२ गोटा कापी सहयोग गरेको साउँदले बताए । त्यसबाहेक फिटनेस प्लानेट जिम तथा जुम्बा हाउसले पनि विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको उनले बताए । साउँदले विद्यालयमा अध्ययनरत अपांगता भएका विद्यार्थीहरुका लागि गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । कार्यक्रममा साउँदले विद्यालयको स्थापनादेखी हालसम्म भएगरेका प्रगतीहरुका बारेमा जानकारी गराएका थिए ।

यसैबिच कार्यक्रममा दुवै विद्यालयका ५ जना विद्यार्थीहरुको एकमुष्ट जन्मदिन मनाईएको थियो । विद्यार्थीहरुलाई सँगै सहभागी गराएर उनिहरुको जन्मदिनका अवसरमा केक काटिएको साउँदले बताए ।

Loading...