दार्चुलाः दार्चुलाकी एक पत्रकार यतिबेला आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरीको रूपमा पनि खटिएकी छन् । २०७८ सालदेखि स्थानीय एफएममा कार्यरत सारंगी खत्री यतिबेला निर्वाचन प्रहरीको रूपमा पनि खटिएकी हुन् ।
समाचार वाचन, कार्यक्रम प्रस्तुति र प्राविधिक जिम्मेवारी सम्हाल्दै आएकी खत्रीलाई निर्वाचन प्रहरीमा भर्ना भएपछि जिल्ला प्रहरी कार्यालयले सदरमुकाम खलंगामै खटाएको छ।
खलंगामै ड्युटी परेकाले उनले रेडियोको कामलाई पनि निरन्तरता दिइरहेकी छन् । बिहान ५ बजेदेखि १० बजेसम्म एफएममा काम गर्ने र त्यसपछि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म निर्वाचन प्रहरीको ड्युटी गर्ने तालिका रहेको उनले बताइन् ।
“रेडियोको आम्दानीले मात्रै जीवन धान्न सकिँदैन । बेरोजगारीका कारण अन्य काम पाउन गाह्रो छ,” खत्री भन्छिन्, “त्यसैले छोटो समयका लागि भए पनि केही आम्दानी हुने भएपछि निर्वाचन प्रहरीमा भर्ना भएकी हुँ ।”
दार्चुलाको मार्मा गाउँपालिका-४ घर भएकी खत्री जिल्लामा कार्यरत थोरै महिला पत्रकारमध्ये एक हुन् । नेपाल पत्रकार महासंघ दार्चुलाका निर्वतमान अध्यक्ष कृष्णसिंह धामीका अनुसार दुर्गम जिल्लामा पत्रकारिता गरेर जीविका चलाउन निकै कठिन छ, अझ महिला पत्रकारका लागि चुनौती झनै जटिल छ । यही कारण धेरै महिला पत्रकार लामो समय टिक्न नसक्ने अवस्था रहेको उनको भनाइ छ ।
निर्वाचन प्रहरीको जिम्मेवारी सम्हाले पनि पत्रकारिता छाड्ने सोच भने खत्रीले बनाएकी छैनन् । “रहरले पत्रकारितामा छु, निर्वाचन प्रहरी बाध्यताले बनेकी हुँ,” उनले भनिन्, “चुनावमा प्रहरीको भूमिकाबाट देशको सेवा गर्न पाउँदा खुसी पनि लागेको छ ।”
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार यसपटक दार्चुलामा २९७ जना महिला निर्वाचन प्रहरी भर्ना भएका छन् ।