बैतडी : बैतडीको पुर्चौडी नगरपालिका-१० महरगाउँमा एकै घरका दुई बालकको मृत्यु भएको छ । ज्वरोका कारण महरगाउँका स्थानीय कैलाश महरा र मानमती महराका १३ वर्षीय छोरा विनोद महरा र १० वर्षीय छोरा विकास महराको मृत्यु भएको वडा सदस्य विष्णु अवस्थीले जानकारी दिए ।
महरा दम्पतीका दुई मात्रै सन्तान रहेकोमा दुबैको ६ दिनको अन्तरालमा दुःखद मृत्यु भएको वडा सदस्य अवस्थीले बताए । कक्षा ७ मा अध्ययन गरिरहेका विनोदको फागुन ११ गते तथा कक्षा ५ का विद्यार्थी विकासको आज, ज्यान गएको अवस्थीले बताए । दुबै बालकलाई सुरूमा ज्वरो आएको र ज्वरो आएको दुई/तीन दिनपछि ज्यान गएको वडा सदस्य अवस्थीले बताए ।
६ दिनको अन्तरमा एकै घरका दुई दाजुभाइको ज्वरोका कारण मृत्यु भएपछि स्थानीयले फोनमार्फत नगरपालिकाको स्वास्थ्य शाखामा खबर गरेका थिए । पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बिहान साढे नौ बजे खबर प्राप्त गर्नासाथ स्वास्थ्यकर्मीको टोली महरगाउँ प्रस्थान गरेको जानकारी दिएका छन् ।
स्वास्थ्य शाखा प्रमुख कुँवरका अनुसार बिरामीहरूमा उच्च ज्वरो आउने, वान्ता हुने र जिउ दुख्ने लक्षण देखिएको बताएका छन्। जिल्ला स्वास्थ्य कार्यालय र नगरपालिकाको स्वास्थ्यकर्मीको टोली गाउँमा आउन लागेको वडा सदस्य अवस्थीले बताए ।
कैलाश र मानमती महराले आफ्ना दुई सन्तान ६ दिनको अन्तरमा गुमाउनु परेकाले दुबै विक्षिप्त अवस्थामा रहेको साथै गाउँमा रोगको त्राससमेत फैलिएको बताइएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुँवरले डाक्टर, स्वास्थ्यकर्मी र ल्याबसहित महरगाउँका लागि हिँडेको जानकारी दिए ।