कैलाली-४ मा नेकपा चौधरीसहित १२ उम्मेदवारको जमानत जफत

अत्तरिया : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार हरिराम चौधरी सहित १२ जना उम्मेदवारको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१(१) अनुसार पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ । कैलाली क्षेत्र नम्बर ४ मा कुल ५८ हजार २८३ मत सदर भएकोमा जमानत जोगाउन कम्तीमा ५ हजार ८२८ मत आवश्यक थियो ।

नेकपाका उम्मेदवार चौधरीले भने ५ हजार ६०९ मत मात्रै प्राप्त गरेपछि उनको धरौटी जफत भएको हो । यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खेमराज कोईराला विजयी भएका छन् । कोईरालाले नेपाली कांग्रेसका गोरख बहादुर बिष्ट (आनन्द) लाई १७ हजार २५५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । कांग्रेसका बिष्टले ११ हजार ३०१ मत प्राप्त गरेका थिए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लेखराज भट्टले ९ हजार ४४४ मत प्राप्त गर्दै तेस्रो बनेका छन् । कांग्रेसका बिष्ट र एमालेका भट्टले भने आवश्यक मत प्राप्त गर्दै जमानत जोगाएका छन् । अन्य १२ उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरूको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

जफत हुनेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी,नेपाल, श्रम संस्कृति पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), उज्यालो नेपाल पार्टी, नेपाल मानवतावादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेशनल रिपब्लिक नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), मितेरी पार्टी नेपाल र स्वतन्त्र उम्मेदवार रहेका छन् । कैलाली क्षेत्र नम्बर ४ मा कुल मतदाता १ लाख १५ हजार १४३ रहेका छन् भने प्रत्यक्ष तर्फ कुल ६१ हजार ९४१ मत खसेको थियो । ३ हजार ६६५ मत बदर भएर ५८ हजार २८३ मत सदर भएको थियो ।

कैलाली-४ को यस्तो छ मत परिणाम

खेमराज कोइराला (रास्वपा)–२८,५५६ (विजयी)
गोरख बहादुुर विष्ट (कांग्रेस)–११,३०१
लेख राज भट्ट (एमाले)–९,४४४
हरि राम चौधरी (नेकपा)–५,६०९
कमल रजवार (राप्रपा)–१,३५८
धन बहादुर सुनार (नाउपा नेपाल)–६७५
भिम बहादुर थापा मगर (श्रम संस्कृती पार्टी)–३७९
छत्र बहादुर भट्ट (स्वतन्त्र)–२४१
भक्त बहादुर शाही (नेकपा माओवादी)–१७२
सुभास कुवर (उज्यालो नेपाल पार्टी)–१५७
यज्ञ बहादुर टमोटा (नेपाल मानवता पार्टी)–१४१
हेम राज भट्ट (राष्ट्रिय जनमोर्चा)–१२१
गोपीलाल चौधरी (नेशनल रिपब्लिक नेपाल)–४८
अमृता भुल (नेमकिपा)–४०
मोहन देव मिश्र (नेकपा संयुक्त)–३०
दिनेश कुमार मल्ल (मितेरी पार्टी नेपाल)–११

Loading...