कैलालीबाट १८ हजार विद्यार्थी एसइईमा सहभागी हुदै

श्याम बोहरा/अत्तरिया : कैलालीबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १८ हजार भन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् ।

कुल परीक्षार्थी मध्ये ९ हजार ६०५ छात्रा र ८ हजार ७५९ छात्र गरी १८ हजार ३ सय ६४ जना परिक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले बताएका छन् । उनका अनुसार यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सुरु भई चैत २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरिसकेको उनले बताए ।

एसइई परीक्षाका लागि जिल्लामा ५५ वटा परीक्षा केन्द्र तोकिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख ज्ञवालीका अनुसार प्रत्येक केन्द्रमा केन्द्राध्यक्ष नियुक्ती गर्ने, केन्द्र तय गर्ने र उत्तर पुस्तिकाहरु सम्बन्धित परिक्षा केन्द्रमा पठाउने कार्य सम्पन्न भईसकेको छ । राष्ट्रिय परिक्षा बोर्डबाट प्रश्नपत्रहरु जिल्ला प्रहरी कार्यालय कैलालीमा आईपुगेको र केहिदिनमा परिक्षा केन्द्र नजिकको ईलाका प्रहरी कार्यालयमा पठाउने तयारी भईरहेको छ ।

परिक्षार्थीहरुले आफ्नो पुर्व तयारी गरेर कुनै डर,त्रास नमानिकन ढुक्कसंग परिक्षामा सहभागी हुन अनुरोध गर्दै शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख ज्ञवालीले परीक्षालाई सहज वातावरणमा सञ्चालन गर्नेगरी तयारी भईरहेको बताए ।

२०८१ सालको एसइई परीक्षामा जिल्लाबाट १८ हजार ७५१ विद्यार्थी सहभागी भएकोमा ७ हजार ५२३ विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका हुन् । जुन कुल ग्रेडेड विद्यार्थीको ४० प्रतिशत हो । शिक्षा तथा समन्वय इकाई कार्यालय कैलालीका अनुसार कैलालीबाट एसइई दिएका मध्ये ७ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका थिए । जसमध्ये १ जना सामुदायिक र ६ जना निजी विद्यालयका विद्यार्थी रहेका थिए ।

Loading...