गोदावरीबाट एक करोड बढी ठगी आरोपमा एक जना पक्राउ

धनगढी : कैलालीमा सरकारी जागिर लगाइदिने तथा अनुदान उपलब्ध गराइदिने जस्ता प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका–२ घर भएर कैलालीको गोदावरी नगरपालिका-६ लालपुर बस्दै आएका ३३ वर्षीय तुलाराम कोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले बताए ।

तिमिल्सिनाकाअनुसार कोलीलाई जिप्रकाको टोलीले उनकै घरबाट नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर ठगी मुद्दामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीकाअनुुसार उनीमाथि अहिलेसम्म विभिन्न व्यक्तिबाट ठगी गरेको भन्दै १० वटा उजुरी दर्ता जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भइसकेको छ ।

अहिलेसम्मको विवरणअनुसार एक करोड २० लाख रुपैयाँ बराबरको ठगी भएको प्रारम्भिक पाईएको कैलाली प्रहरीले जनाएको छ । बाँकी कुरा भने अनुसन्धानका क्रममा खुल्ने प्रहरीको भनाई छ ।

Loading...