काठमाण्डौ : नेकपा एमालेले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको विषयलाई प्रतिनिधिसभा बैठकमा उठाउने भएको छ ।
एमालेको आज बसेको सचिवालय बैठकले ओली पक्राउ परेको विषय सङ्घीय संसदमा उठाउने र विरोध जनाउने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । सङ्घीय संसद्को बैठक पर्सि बिहीवारका लागि बोलाइएको छ ।
यस्तै एमालेले वडादेखि केन्द्रसम्म चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । एमालेले चैत २८ गते पालिकास्तरमा, वैशाख ३ गते वडास्तरमा, ७ गते प्रदेशस्तरमा र १२ काठमाण्डौमा विरोध प्रदर्शन गर्ने निर्णय भएको महासचिव पोखरेलले बताउनुभयो ।
गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै सरकारले शनिवार बिहान ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।
यस्तै आज बिहान काठमाण्डौका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पनि पक्राउ पर्नुभएको छ । रिजालमाथि पनि आन्दोलनमा दमन गरेको आरोप छ ।