अत्तरिया : कैलालीको चौकीडाँडा फल्टुडे सडकखण्ड स्थानीयले बन्द गरेका छन् । समयमा सडक निर्माण नहुँदा धुलोले सास्ती खेप्नु परेको भन्दै गोदावरी-३ स्थित मालाखेतीमा स्थानीयले सडकमा ढुंगामुँढा राखेर अवरुद्ध गरेका हुन् ।
लामो समयदेखि सडक अलपत्र परेपछि धुलोका कारण स्थानीयको जनस्वास्थ्यमा प्रत्यक्ष असर परिहेको हुँदा हुँदा सडक अवागमन बन्द गर्नुपरेको स्थानीय तेजराज जोशीले बताए । चौकीडाँडा-फल्टुडे सडक खण्ड निर्माण कम्पनी एडभेञ्चर थेगिम जेभी र तेडी निर्माण सेवाको लापरबाहीका कारण आफूहरुले सास्ती खेप्नु परिरहेको सथानियहरुले गुनासो गरेका छन् ।
यसअघि गत भदौमा ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण सडक निर्माण कार्य छ वर्षदेखि अघि नबढेपछि वडा नं. ३, १०, ११ र १२ का वडाध्यक्षहरूले सडकबाटै कार्यालय सञ्चालन गरेर विरोध जनाएका थिए । ठेकेदारले गरेको ढिलासुस्ती र लापरबाही विरुद्ध वडा अध्यक्षहरुसमेतको सहभागितामा अत्तरिया चोकमा विरोध ¥याली पनि निकालिएको थियो ।
त्यसपछि बाध्य भएर ठेकेदारले पूर्वाधार विकास कार्यालय कैलालीमा २०८२ चैत्र १५ गतेसम्म कृष्णमन्दिर बान्द्रेखाल सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौता गरेका थिए । तर हालसम्म काम अघि बढ्न सकेको छैन । सुदूरपश्चिम प्रदेश गौरवको योजनाका रूपमा रहेको उक्त सडकअन्तर्गत कृष्णमन्दिर बान्द्रेखाल सडक निर्माणको काम ठेकेदारको लापरबाहीका कारण सुस्त छ ।
भौतिक पूर्वाधार विकास कार्यालय धनगढीले कृष्ण मन्दिरदेखि गोदावरी–१० को वडा कार्यालयसम्म अढाइ किलोमिटर सडक निर्माणका लागि विसं २०७७ भदौ १८ मा एडभेञ्चर थेगिम जेभीसँग पाँच करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार विसं २०७८ माघ १७ गतेभित्र सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि पटक पटक म्याद थप गरिए पनि काम हुन सकेको छैन ।
