अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा २०८३ सालको भर्ना अभियान वैशाख ७ गतेदेखि सुरु हुने भएको छ । वैशाख १५ गतेदेखि पठनपाठन सुरु गर्न नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकाको आज बसेको कार्यपालिकाको वैठकले उक्त निर्णय गरेको हो ।
केन्द्र सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि अध्ययन,अध्यापनको कार्य सुरु गर्ने निर्णय गरी सोहीअनुसार शैक्षिकसत्र अगाडि बढाउन पालिकाहरुलाई पत्राचार गरेको थियो ।
उता नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घले आफू अनुकूल विद्यार्थी भर्ना तथा पठनपाठनलगायतका शैक्षिक गतिविधि अघि बढाउन पालिकालाई सर्कुलर गरेका छन् ।
नगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षलाई सम्बोधन गरिएको सर्कुलरमा संविधानअनुसार विद्यालय शिक्षाको अधिकार पालिकाको भएकाले त्यसैअनुसार शैक्षिक क्रियाकलाप अघि बढाउन सुझाव दिइएको छ ।
केन्द्र सरकारले यही वैशाख १५ गतेदेखि शैक्षिक सत्र शुरू हुने, १५ देखि २१ गतेसम्म विद्यार्थी भर्ना लिने र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने र आइतवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर यो निर्णयमा असहमति जनाउँदै कतिपय पालिकाले यसअघि नै भर्ना र पठनपाठन गर्ने निर्णय गरेका छन्।
