धनगढी: धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा २०८३ सालको भर्ना अभियान वैशाख ४ गतेदेखि सुरु हुने जनाएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि कक्षा सञ्चालन गर्न स्थानीय तहहरूलाई परिपत्र गरे पनि त्यसले विद्यार्थीको अध्ययन-अध्यापनमा अवरोध हुने, पाठ्यक्रमअनुसारको वार्षिक कार्यघण्टी नपुग्ने, शिक्षाको गुणस्तरमा ह्रास आउने र विद्यालयमा अध्ययन-अध्यापन हुने दिन नपुग्ने देखिएको उपमहानगरपालिकाले जनाएको छ ।
यसै सन्दर्भमा उपमहानगरपालिकाले विभिन्न सरोकारवालासँग छलफल गरी २०८३ वैशाख ३ गते सम्पन्न नगर शिक्षा समितिको निर्णयअनुसार धनगढी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा भर्ना अभियान र अध्ययन-अध्यापन सुरु गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार वैशाख ४ गतेदेखि ११ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने र वैशाख १४ गतेदेखि नियमित अध्ययन-अध्यापन कार्य सुरु गरिने उपमहानगरपालिकाले जनाएको छ ।
साथै, नगर शिक्षा समितिको सोही निर्णयअनुसार उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूले विद्यार्थी भर्ना तथा अध्ययन-अध्यापन कार्य तोकिएको मितिअनुसार अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने जानकारी पत्रमार्फत गराइएको छ ।
