अत्तरिया : कैलालीको गोदावरी आर्यघाटको उद्घाटन गरिएको छ । शनिबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले आर्यघाटको उद्घाटन गरेका हुन ।
सुदूरपश्चिम प्रदेश सरकारको १ करोड र पर्यटन विभागको २ करोड गरी ३ करोडको लागतमा निर्माण भएको सो आर्यघाट एकपटकमा ७ ओटा शवहरु जलाउन मिल्ने गरी बनाईएको छ । नगरप्रमुख भट्टले आर्यघाटको उद्घाटन भएसँगै अब गोदावरीमा दाहसंस्कार गर्न समस्या नहुने बताए । उनले यसअघि पानी अभावका कारण गोदावरीमा दाहसंस्कार गर्न समस्या हुने गरेकोमा अव व्यवस्थीत रुपमा आर्यघाट सञ्चालनमा आएसँगै पानी लगायतका समस्याको समेत समाधान भैसकेको बताए ।
उनले गोदावरीमा दाहसंस्कारका लागि आउने मानिसहरुलाई शव जलाउन र बगाउन समस्या नहोस भन्नका लागि नै वृहत र व्यवस्थीत आर्यघाट निर्माण गरिएको बताए । उनले आर्यघाटको व्यवस्थापनका लागि २ जना कर्मचारी राखिने पनि बताए ।
सो आर्यघाटमा अत्याधुनिक अटोमेटिक फ्लसिङ प्रणाली जडान गरिएको छ । त्यसबाहेक आर्यघाटमा ३ लाख लिटर क्षमताको ठूलो पानी ट्याङ्की पनि निर्माण गरिएको छ । पानी नभएको समयमा आर्यघाटमा दाहसंस्कारका लागि पानीको सुनिश्चिचता गर्न ट्यांकी निर्माण गरिएको नगरप्रमुख भट्टको भनाई छ । आर्यघाटन निर्माणका लागि नगरपालिकाले जगदम्बा भवानी जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।