अत्तरिया : कैलालीको धनगढी बजारमा भएको आगलागीबाट झण्डै १८ करोडको क्षति भएको छ । विद्युत सर्ट भएर राति करीब १ बजेतिर मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पताल सहितका पसलमा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट १७ करोड ९७ लाख २० हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुल्दीप चन्दले जानकारी दिए । आगलागीबाट सारथी अस्पतालको ५ करोड ५० लाख, गरिमा पोलिक्लिनिकको ३० लाख, सुदिक्षा ईन्टरप्राईजेजको १ करोड २० लाख र भट्ट सप्लायर्सको ७० लाख क्षति भएको छ ।
यस्तै भण्डारी सुज सेन्टर गोदामको ५० हजार, भण्डारी जनरल स्टोरको ४ करोड २५ लाख, मधुमाला कलेक्सनको ६० लाख, सुभिक्षा बेबिसपको ९० लाख, खाद्य गोदामको भौतिक संरचनाको ४ करोड र खाद्यान्न गोदाममा कर्मचारीको स्कुटरको २ लाख २० हजारको क्षति भएको डिएसपी चन्दले बताए ।
स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको बताईएको छ । धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोली समेत परिचालन गरिएको थियो ।
