अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-४ स्थित बुढीतोलामा आजबाट ‘बुढीतोला पर्यटन महोत्सव’ सुरु भएको छ । आज (बिहीबार) एक समारोहकाबिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले महोत्सवको उद्धघाटन गरेका हुन् ।
बुढीतोला क्षेत्र पर्यटन प्रर्वद्धन तथा बजार व्यवस्थापन समितिको आयोजनामा आजदेखी महोत्सव सुरु भएको हो । उद्धघाटन अघि बुढीतोला बजारमा बाजागाजा सहित विभिन्न झाँकीहरुका साथ प्रभातफेरी गरिएको थियो ।
आजबाट सुरु भएको महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने महोत्सव मुल आयोजक समितिका संयोजक हरिदत्त भट्टराईले जानकारी दिए ।
संयोजक भट्टराईका अनुसार वैशाख २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा एलिना चौहान, पुष्कल शर्मा, ज्योती मगर,चक्र बम, टंक तिमल्सिना,कमल विरही लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।
महोत्सवमा रमाईलो मेलाहरुका साथै बुढीतोला क्षेत्रका स्थानियहरुको स्वास्थ्य अवस्था चेकजाँच गर्नका लागि नेपालीसेनासँगको सहकार्यमा स्वास्थ्य शिविर पनि रहने आयोजकले जनाएको छ ।
बुढीतोलाको पर्यटकीय सम्भावनालाई उजागर गर्न महोत्सव आयोजना गर्न लागिएको हो । बुढीतोलाको ऐतिहासिक महत्व उजागर गर्ने, पर्यटन प्रवद्र्धन गर्ने तथा लगानी भित्र्याउने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
बुढीतोलामा ऐतिहासिक संग्रहालयको अवलोकन गर्ने, स्विमिङ पुलमा रमाउन र महोत्सव पछी आउने पर्यटकहरुका लागि घरघरमा होमस्टेको अवधारणा ल्याएको र त्यसको पनि प्रचार गर्न महोत्सव आयोजना गरिएको संयोजक भट्टराईले बताए । उनले महोत्सवले बुढीतोला क्षेत्रका स्थानिय उत्पादनहरुको प्रचार प्रसार र ब्राण्डिङ गर्नमा मद्दत गर्ने बताएका छन् ।
महोत्सवमा ६० वटा स्टल रहने छन भने महोत्सवमा प्रवेशका लागि सामान्य टिकट दर १ सय र विद्यार्थीलाई ५० तोकिएको छ। ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
समितिका संयोजक हरिदत्त भट्टराईको सभाअध्यक्षतामा भएको उद्धघाटन समारोहमा गोदावरी, चुरे सहितका स्थानाीय तहका जनप्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि, कलाकारसहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।