धनगढीका मेयर हमालद्वारा सेवा सुविधाको ४४ लाख शिक्षा र समाजसेवामा

धनगढीः धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आफूले पाउने पारिश्रमिक तथा सेवा-सुविधा सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएका छन् । मेयरमा निर्वाचित भएदेखि नै सरकारी सुविधा नलिने घोषणा गरेका हमालले हालसम्म प्राप्त सम्पूर्ण रकम शिक्षा, गौ-सेवा र असहायहरूको सहयोगमा खर्च गर्दै आएका छन् ।

सोही प्रतिबद्धताको निरन्तरता दिँदै शुक्रबार हमालले धनगढीमा पत्रकार सम्मेलन गरेर अहिलेसम्मको सेवा-सुविधाको रकम खर्च गरिएको विवरण सार्वजनिक गरेका छन् । उनले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेर विपन्न तथा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले आफूले प्राप्त गरेको रकम शिक्षा र समाजसेवामा खर्च गरिरहेको बताए ।

आर्थिक वर्ष २०७८/०७९ मा प्राप्त १ लाख ३७ हजार २ सय ७३ रुपैयाँ पूर्ण रूपमा सामाजिक क्षेत्रमा खर्च गरिएको थियो। सो रकममध्ये गौ संरक्षण सेवा समितिलाई ५५ हजार ६ सय ८७ रुपैयाँ र दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालयलाई ८१ हजार ५ सय ८६ रुपैयाँ नगद सहयोग गरिएको थियो ।

यस्तै आर्थिक वर्ष २०७९/०८० मा प्राप्त ९ लाख ३६ हजार ४ सय रुपैयाँमध्ये २ लाख ६७ हजार ८ सय रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको थियो । उक्त रकमबाट दृष्टि फाउन्डेसन, मानव सेवा आश्रम, आमाको माया छात्राबास, खगेन्द्र नवजीवन केन्द्र र दक्षिणकाली विद्यालयका गरी कुल २६९ जना आश्रितहरू लाभान्वित भएका थिए । उनीहरूलाई न्यानो लुगा वितरण गरिएको थियो ।

आर्थिक वर्ष २०८०/०८१ मा भने कक्षा ८ को वार्षिक परीक्षामा शून्य नतिजा आएका १७ वटा सामुदायिक विद्यालयका ३ हजार ४ सय ८९ जना विद्यार्थीहरूलाई कापी, पेन्सिल, कटर र इरेजरजस्ता शैक्षिक सामग्री वितरण गरिएको थियो । यसका लागि ९ लाख ९२ हजार ६ सय ५ रुपैयाँ खर्च भएको थियो ।

आर्थिक वर्ष २०८१/०८२ मा प्राप्त सेवा-सुविधाबाट धनगढीका ४७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ७ हजार ४ सय ७५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । यस अन्तर्गत करिब १० लाख रुपैयाँ बराबरको स्टेशनरी सामग्री वितरण गरिएको हो । मेयर हमालले प्राप्त गरेको रकमबाट ग्रामीण भेगमा रहेका सबै आधारभूत विद्यालयका स्टेसनरी वितरण गरिएको हो ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुखले प्राप्त गरेको १० लाख रुपैयाँबाट धनगढीका ४२ आधारभूत तथा पाँच नमुना गरी ४७ सामुदायिक विद्यालयका ७ हजार ४७५ जना विद्यार्थीलाई स्टेसनरी सहयोग गरिएको बताईएको छ । यस्तै चालु आर्थिक वर्षको प्राप्त सुविधाको रकमबाट स्टेसनरी वितरणको तयारी भइरहेको नगरपालिकाका विज्ञ शिक्षक गणेशप्रसाद भट्टले बताए ।

नगर प्रमुख हमालका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा प्राप्त हुने सेवा-सुविधाको रकम पनि सामाजिक काममै खर्च गरिनेछ । साथै, थप ५ लाख रुपैयाँ व्यक्तिगत सहयोग गरी कुल सामाजिक योगदान ४४ लाख रुपैयाँ पुर्‍याउने उनको योजना रहेको छ ।

हालसम्म नगर प्रमुखको सेवा-सुविधाबाट कुल ३८ लाख ८२ हजार ८ सय ७३ रुपैयाँ प्राप्त भएको छ । जसमध्ये २३ लाख ९७ हजार रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ। बाँकी रकममा समेत उनले व्यक्तिगत तर्फबाट ५ लाख १७ हजार १ सय २६ रुपैयाँ थप गरेका छन् । बाँकी रकमसमेत सामुदायिक विद्यालयका विद्यार्थीका लागि खर्च गरिने बताइएको छ । उनीहरूलाई स्टेनरी सहयोग गरिने नगर प्रमुख हमालले बताए । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको परिवारको आर्थिक अवस्था कमजोर हुने भएकाले उनीहरूंको पढाइमा सहयोग होस् भनेर स्टेसनरी प्रदान गर्न थालिएको मेयर हमालले बताए ।

सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरूको शिक्षामा पहुँच अभिवृद्धि गर्ने र विभिन्न सामाजिक अभियानहरूलाई सघाउने उद्देश्यले आफूले सुविधा त्यागेर सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको मेयर हमालको भनाइ छ । उनका यस्ता कार्यले स्थानीय तहमा नेतृत्वले लिन सक्ने सकारात्मक उदाहरण प्रस्तुत गरेको छ ।

Loading...