गोदावरीका १० विद्यालयमा बालविवाह न्यूनीकरण तथा महिनावारी स्वच्छता सम्बन्धी ५ दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न

६ सयभन्दा बढी विद्यार्थी लाभान्वित

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा बालविवाह न्यूनीकरण तथा महिनावारी स्वच्छता सम्बन्धी ५ दिने जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। असार १५ गतेदेखि सुरु भएको कार्यक्रम असार १९ गते समापन गरिएको हो ।

ई-अल नेपाल प्रा.लि.को आयोजनामा रेडियो अत्तरियाको समन्वय तथा गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रम गोदावरी नगरपालिकाभित्र रहेका १० वटा विद्यालयमा आयोजना गरिएको थियो । कार्यक्रममार्फत किशोर-किशोरीहरूलाई बालविवाहका कानुनी, सामाजिक तथा स्वास्थ्यसम्बन्धी असरका साथै महिनावारी स्वच्छता, सुरक्षित अभ्यास र विद्यमान भ्रम तथा कुरीतिबारे विस्तृत जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा गोदावरी नगरपालिकाका योजना शाखा प्रमुख महाजित साउद, महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी खत्री, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका सहप्राध्यापक हर्कबहादुर साउद, महिला तथा बालबालिका शाखाका सहायक प्रमुख प्रेमा बडु जोशी तथा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका सहप्राध्यापक विष्णु महरा ले प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरूले बालविवाहका कारण किशोर-किशोरीको शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था तथा भविष्यमा पर्ने नकारात्मक प्रभावबारे जानकारी गराउँदै कानुनी व्यवस्थाबारे समेत विद्यार्थीहरूलाई सचेत गराएका थिए ।

त्यसैगरी, महिनावारी कुनै रोग वा अशुद्ध अवस्था नभई प्राकृतिक जैविक प्रक्रिया भएको उल्लेख गर्दै महिनावारीका बेला अपनाउनुपर्ने व्यक्तिगत सरसफाइ, पोषण, मानसिक स्वास्थ्य तथा सुरक्षित स्यानिटरी सामग्रीको प्रयोगबारे समेत विद्यार्थीहरूलाई जानकारी गराइएको थियो । कार्यक्रममा विद्यार्थीहरूले खुलेर जिज्ञासा राखेका थिए भने प्रशिक्षकहरूले व्यवहारिक र वैज्ञानिक आधारमा उनीहरूको जिज्ञासाको समाधान गरेका थिए ।

उक्त कार्यक्रम रेडियो अत्तरियाका स्टेशन म्यानेजर तथा ई-अल नेपाल प्रा.लि.का कार्यक्रम संयोजक धुर्व ओझाको समन्वय तथा सहजीकरणमा सञ्चालन भएको थियो । व्यवस्थापनतर्फ रेडियो अत्तरियाका कर्मचारी गणेशराज जोशी र श्याम बोहराले सक्रिय भूमिका निर्वाह गरेका थिए । उक्त अभियान अन्तर्गत एभरेष्ट एकेडेमी अत्तरिया, दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय अत्तरिया, मोहना मन्टेश्वरी मालाखेती, गोदावरी पब्लिक स्कुल अत्तरिया, एपेक्स एकेडेमी बसन्तपुर, गुराँस एकेडेमी बनखेत, माउन्ट ओलिभ स्कुल चौकीडाँडा, जनकल्याण स्कुल तेघरी, पुष्पाञ्जली आवासीय माध्यमिक विद्यालय अत्तरिया तथा ज्ञानज्योति स्कुल तेघरी मा कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा करिब ६ सय ५० जना विद्यार्थी सहभागी भएका थिए । प्रत्येक विद्यालयमा विद्यार्थीहरूको उल्लेखनीय तथा उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएको छ । सहभागी विद्यार्थीहरूले कार्यक्रम अत्यन्तै उपयोगी भएको प्रतिक्रिया दिँदै यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।

सुदूरपश्चिम प्रदेशमा अझै पनि जरा गाडेर बसेको छाउपडी प्रथा, महिनावारीसम्बन्धी अन्धविश्वास तथा बालविवाह जस्ता सामाजिक कुरीतिहरू न्यूनीकरण गर्दै किशोर-किशोरीलाई सही जानकारी, आत्मविश्वास र सकारात्मक सोचको विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकको भनाइ छ।
समापनका क्रममा आयोजकले समुदाय, विद्यालय, अभिभावक र स्थानीय सरकारबीचको सहकार्यबाट मात्रै यस्ता सामाजिक विकृति अन्त्य गर्न सकिने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेको छ ।

Deep Jyoti Pustak psl
Loading...